१ असार २०७७, सोमबार
  • देवराज पन्त,

मकवानपुर, १ असार । बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०७७/ ७८ का लागि करिब ५० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।

बजेटमा स्वास्थ्य र उत्पादनमूलक कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर यस बर्षको बजेट ल्याईन लागेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बताउनु भएको छ । मन्त्री ढुङ्गेलका अनुसार नीति तथा कार्यक्रमका योजनालाई समेट्ने गरी कृषि र प्रदेश सरकार मातहतका ८ वटा सरकारी अस्पतालको सुधार गर्ने गरी स्वास्थ्य क्षेत्रमा नै बढी बजेट छुट्याइएको जनाउनु भएको छ ।

कोरोना संकटलाई ध्यानमा राखेर यस बर्षको बजेट तयारी गरिएको प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतले जानकारी दिनुभयो । प्रदेश योजना आयोगका अनुसार ६६ वटा निर्वाचन क्षेत्र र १ सय १९ वटा स्थानीय तहको पूर्वाधार विकासमा बजेट लक्षित रहेको जनाएको छ ।

सांसदलाई पूर्वाधार विकासमा २ अर्ब ४२ करोड बाँडिने

बागमती प्रदेश सरकारले संसद विकास कोषमार्फत संघीय सरकारकै अनुशरण गर्दै यस बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत प्रदेश सांसदहरुलाई २ अर्ब ४२ करोड बाँड्ने तयारी गरेको छ ।

यस अनुसार १ सय १० प्रदेश सांसद मध्ये प्रत्यक्ष निर्वाचित ६६ सांसदले तीन करोड रुपैयाँ र समानुपातिक तर्फका ४४ सांसदले एक करोड रुपैयाँका दरले अनुदान दिइने जनाइएको छ । यसअघिको बजेटमा प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र यो रकम दिएको थियो । आज सोमबार साँझ ५ बजे बागमती प्रदेश सभामा बजेट प्रस्तुत हुँदैछ ।

प्रदेश सरकारले चालू आर्थिक बर्षमा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बजेट ल्याए पनि खर्चको स्थिति निराशाजनक छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV