१ असार २०७७, सोमबार
  • शितल भट्ट

कन्चनपुर, १ असार । साेमबार (आज) सुदूरपश्‍चिम प्रदेश सरकारले आगामी आ.व. २०७७-०७८ का लागि साेमबार (आज) बजेट ल्याउँदै छ । साँझ ५ बजे प्रदेशसभामा वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको स्रोतले बतायाे । यसअघि चालु आ.व ०७६/०७७ का लागि २८ अर्ब बराबरको बजेट ल्याएको थियो ।

सुदूरपश्‍चिम सरकारले यस वर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका योजनामा बढी बजेट विनियोजन गर्ने अनुमान गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा पनि कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा जोड दिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले वित्तीय समानीकरण, सशर्त विशेष र समपुरक समेत गरी नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताए ।

मन्त्री बोहराले स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई स्वरोजगारका कार्यक्रममा प्राथमिकताका साथ बजेट परेको बताए । उनले कोरोनाका कारण रोजगारी तथा आयश्रोत गुमाएका प्रवासीलाई स्वदेशमै राेजगार दिलाउने खालका कृषि, पूर्वाधार र उद्योग लगायतका कार्यक्रममा प्रदेश सरकारले जाेड दिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV