गफ हानेको होइन- ढुक्क रहौं, मुलुक बन्छ : प्रधानमन्त्री ओली



प्रकाशित मिति : Jun 15, 2020

काठमाडाैं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको बताउनुभएकाे छ ।  वैकल्पिक सिकाइसम्बन्धी अभियानको सुरुवातको अवसरमा शुभकामना सन्देश दिनुहुँदै अप्ठेरो अवस्थामा केही असहजता भए पनि अब देशमा आन्दोलन आवश्यक नभएको उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हाम्रो देश झन् पछि पर्ने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको आफूले थाहा पाएको उल्लेख गर्दै देशले राम्रो गर्छ र अगाडि बढ्छ भन्नेमा ढुक्क रहन आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरूकाे कुरा सुनेकाे छु । मुलुक बिग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरूमा पोखिएको आक्रोश वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ? आज म यी सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन ।’

प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयाे, ‘म एकमुष्ट भन्न चाहन्छु- जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरू यस मुलुकको भाग्यमानी पुस्ता बन्छन् भन्ने तपाईका अभिभावकहरूको भनाइ झुटा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक छैन । अप्ठ्यारोमा दुविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाएजस्तो गफ हानेको होइन, ढुक्क रहौं, मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ ।’

उहाँले विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई स्थानीय स्तरमा जुन विधि सम्भव छ, त्यही माध्यमबाट पठनपाठन गर्न गराउन आह्वान गर्नुभयाे । अनलाइन, अफलाइन, टेलिभिजन, रेडियो र स्वअध्ययन सामग्रीको प्रयोग गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन सकिने उहाँले बताउनुभयाे । ‘शैक्षिक सत्र प्रभावित हुन नदिन र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सरकारले वैकिल्पक कक्षा सञ्चालन गरेको हो,’ प्रधानमन्त्री ओलीले  भन्नुभयाे ।

सरकारले कोरोना भाइरसको जोखिम आकलन गरी यथासम्वभ छिटो विद्यालयहरु पुन: सञ्चालन गर्ने उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले बालबालिकालाई सहयोग गर्न शिक्षक, अभिभावक र स्वयसेवकलाई अपिल समेत गर्नुभयाे । ‘वैकल्पिक शिक्षामा जोडिएका बालबालिका भोलिका कर्णाधार हुन्, शैक्षिक प्रणाली परिमार्जन गर्ने अवसर आएको छ ।, यो प्रविधिलाई घरघरमा पुर्‍याउने अवसर पनि हो,’ प्रधानमन्त्री ओलीले  भन्नुभयाे ।

लकडाउन खुलेको होइन, खुकुलो बनाइएको मात्र हो

प्रधानमन्त्री ओलीले अहिले लकडाउन खुलेको नभई खुकुलोमात्र भएकाले सबैले आफ्नो स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनु पर्ने बतानउनुभयाे ।

‘भाइरसको महामारी रोकिएको छैन, अझै फैलिँदो छ । लकडाउन अन्त्य भएको होइन, केही खुकुलो पारिएको छ । तसर्थ हाम्रो व्यवहार, स्वच्छन्द होइन सतर्कता सहित चालिनु पर्छ । तोकिएका सबै नियमहरू पालना गरिनुपर्छ,’ प्रधानमन्त्री ओलीले  भन्नुभयाे, ‘सामाजिक दूरी कायम नगर्ने, आवश्यक सुरक्षा सतर्कता नपनाउने र मनखुशी चल्ने गरेमा आफ्ना कारणले आफूमात्रै होइन, सिङ्गो परिवार, आफन्तहरू र समग्र समुदाय नै संक्रमित हुन सक्छन् ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com