प्रदेश १ : आगामी आर्थिक वर्षकाे बजेट ३५ अर्ब हाराहारीको, आज पेश हुँदै



प्रकाशित मिति : Jun 15, 2020
  • तारा आचार्य

विराटनगर, १ असार । प्रदेश- १ सरकारले प्रदेश सभामा सोमबार आगामी आर्थिक वर्ष ०७७-७८ काे बजेट पेश गर्दैछ । चालु आर्थिक वर्षको बजेटभन्दा ७ अर्ब कम करिब ३५ अर्ब हाराहारीको बजेट ल्याउन लागेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले जानकारी दिनुभयो ।

मन्त्री आङवोले ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट पेश गर्नुहुनेछ । उहाँले कुल बजेटको २० प्रतिशत बजेट स्वास्थ्य र कृषि क्षेत्रमा विनियोजन हुने पनि बताउनुभयो । उहाँले आगामी बजेट प्रदेशमा सञ्चालनमा रहेका बहुवर्षीय र मुख्यमन्त्री ग्रामीण सडक योजनालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट ल्याएको थियो । चालू आथिर्क वर्षमा प्रदेश सरकारले पुँजीगत खर्च ४३ प्रतिशत हाराहारीमा गरेको बताइएको छ । मन्त्री आङवोले कोरोना महामारी र लकडाउनका कारण चालू आर्थिक वर्षको अनुमानित आय संकुचित भएपछि त्यसको प्रत्यक्ष असर आउने आर्थिक वर्षको बजेटमा परेको जानकारी दिनुभयो ।

आगामी बजेटको लागि संघीय सरकारबाट प्राप्त हुने स्रोत मात्र संकुचन भएको छैन । चालू आर्थिक वर्षमा प्रदेशको राजश्व संकलनमा पनि प्रभावित भएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३ अर्ब ८६ करोडको अनुमान गरेको आन्तरिक स्रोत तेश्रो बजेटको संघारमा सवा अर्बमा खुम्चिएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्री आङवोले कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणमा केन्द्रित हुने बजेटले प्रशसनिक खर्च कटौती गर्ने तयारी गरेको पनि बताउनु भयो । उहाँले अनावश्यक सवारी साधन, फर्निचर फिक्चर्स, मेसिनरी सामग्रीहरु, कार्यालय सामग्रीहरु खरिदमा नियन्त्रण तथा करारमा कर्मचारी नियुक्ति, भ्रमण, बैठक भत्ता,सभा, गोष्ठी, सेमीनारलगायतको क्षेत्रमा खर्च कटौती गरिने बताउनु भयो ।

उहाँले अनावश्यक खर्च कटौती गरेर कोरोना भाइरसको रोकथामा तथा न्यूनीकरणका लागि प्रदेश सरकारले अस्पतालको स्तरोन्नित र निर्माणका लागि बजेट थप्नुपर्ने बताउनु भयो । मन्त्री आङ्बोले युवाहरु बेरोजगार भएर विदेशबाट फर्किंदै गरेकाले रोजगारी सिर्जनाका कार्यक्रम ल्याउनुपर्ने उनीहरुलाई समेटिने सिपसंग सम्बन्धित छिटो प्रतिफल दिने तालिम दिने तयारी गरेको जानकारी दिनुभयो ।

अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगहरु र कलकारखानाको लागि पनि बजेटको आकार खुम्चिने भए पछि मोरङ सुनसरीका औद्योगिक करिडोरका उदेयोगी व्यवसायीहरुले लक डाउनले सवैभन्दा बढी उद्योग व्यवसाय क्षेत्र संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले उद्योग व्यवसाय जोगाउन कम्तीमा पनि ७ प्रतिशत ब्याजमा बैंकिङ कर्जा तथा कम रेटमा विद्युत महशुलको व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने आगामी आर्थिक वर्षको बजेट उत्पादनमुखी नभएर वितरणमुखी हुने संकेत देखिएको बताएको छ ।
प्रदेश सरकारले ल्याउन लागेको यो तेस्रो बजेट हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com