क्वारेन्टाइन लैजाँदै गरेका एक युवाले चुवा भीरबाट हाम फाले



प्रकाशित मिति : Jun 15, 2020

पर्वत, १ असार । क्वारेन्टाइनमा राख्नका लागि बसमा जाँदै गरेका एक जना युवाले पर्वत कुस्मा नगरपालिका- ८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्मह’त्याको प्रयास गरेका छन्।

बागलुङ नगरपालिका वा नं १३ का ३९ वर्षीय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अवस्थामा भीरबाट हाम फालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार सुनौलीबाट उद्धा गरी बागलुङतर्फ जाने क्रममा बस रोकेको मौका पारी ती युवाले भीरबाट हामफालेका थिए । उनी गम्भीर घाइते भएकाे बताइएकाे छ ।

घाइते नेपालीको अहिले पर्वत अस्पतालमा उपचार भैरहेको छ । स्थिति गम्भीर भएका कारण थप उपचारका लागि पोखरा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका नागरिकहरु भारतबाट फर्केपछि क्वारेन्टाइनमा बस्न जाँदै गरेका थिए । पर्वतका नागरिकलाई डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो ।

सडकको अवस्थाका कारण अगाडि जान नसक्ने भनेर बस चालकले इन्कार गरेको मौकामा नेपालीले भने भीरबाट हाम फालेका हुन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com