पाल्पामा काेराेना संक्रमित संख्या ४० पुग्याे- अहिलेसम्म १ काे मृत्यु, २ जना निकाे भए



प्रकाशित मिति : Jun 15, 2020
  • सुमन कार्की

पाल्पा, १ असार । पाल्पामा दिनप्रतिदिन कोरोना संक्रमित बढ्ने क्रम जारी छ । पाल्पामा हिजो मात्र थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै पाल्पामा संक्रमितको संख्या ४० पुगेको छ।

पाल्पाको रम्भा गाउँपालिका- १ हुँगीको जनकल्याण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १६ जना र बगनासकाली गाउँपालिका- ५ स्थायी ठेगाना भई जिल्ला अस्पताल पाल्पाको आइसोलेसनमा उपचार गराइरहेका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले जानकारी दिनुभएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार संक्रमितमध्ये एक जना १३ वर्षकी बालिका र १६ पुरूष रहेको र उनीहरू १३ देखि ५० वर्ष उमेर समूहका रहेका छन्। प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशाला भैरहवाले आइतबार बेलुकी यसको पुष्टि गरेको हो ।

१६ जना रम्भाका कोरोना संक्रमितलाई सोमबार बिहान सोही पालिकाको ५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालयको आइसोलेसनमा लैजाने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

यता बगनासकालीका पुरूषलाई भने मिसन अस्पतालको नर्सिङ कलेजमा स्थापना गरिएको आइसोलेसन लगिएको छ । यही जेठ १५ गते १८ जना भारतको मुम्बईबाट र १६ गते ११ जना दिल्लीबाट सुनौली नाका हुँदै उनीहरू रम्भा गाउँपालिका आइपुगेका हुन् ।

रम्भा गाँउपालिकामा २९ जनाको स्वाब परीक्षणको लागि भैरहवा पठाएकोमा १३ जनाको रिपोर्ट भने नेगेटिभ आएको र १६जनामा पाजेटिभ देखिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

पाल्पामा अहिलेसम्म काेराेनाबाट १ जनाको मृत्यु भएकाे छ ४० जना संक्रमित पुगेका छन् । जसमध्ये २ जनाले भने कोराेनालाई जितेर घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com