प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट आज आउँदै



प्रकाशित मिति : Jun 15, 2020
  • घनश्याम मिश्र

जनकपुरधाम, १ असार । प्रदेश दुईको प्रदेशसभामा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम आईतबार बहुमतले पारित भएको छ । प्रदेश प्रमुख तिलक परियारले जेठ २५ गते प्रदेशसभामा प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री लालबाबु राउतले प्रस्ताव गरेकोमा उक्त प्रस्तावलाई बहुमतले पारित गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी दल नेपाली काँग्रेसका केही प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा संशोधन गर्नका लागि प्रस्ताव पेश गरेका थिए । प्रदेशसभा सदस्यहरु बाबुलाल साह, दिलिप कुमार साह, शिवचन्द्र चौधरी, गोविन्द बहादुर न्यौपाने, रुबी कुमारी कर्ण, नरेश कुमार यादव, सुन्दर बहादुर विश्वकर्मा र सिता गुरुङ्ग लगायतकाले संशोधन प्रस्ताव पेश गरे पनि बहुमतले अस्वीकृत भएको थियो ।

उनीहरुको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा सभामुख सरोज कुमार यादवले गरेका थिए । नीति तथा कार्यक्रम प्रदेश दुईको प्रदेशसभाबाट पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो ।

प्रदेश दुईको सरकारले सोमबार (आज) बेलुका ५ बजे बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि २९ अर्बको बजेट ल्याउन लागेको हो ।

यसअघि आइतबार नीति तथा कार्यक्रममाथि भएको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाब दिँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा छुटेका विषयवस्तुलाई आगामी दिनमा समेटेर लैजाने मुख्यमन्त्री राउतको भनाई थियो । यस प्रदेशलाई नमूना प्रदेश बनाउनका लागि उनले यसका लागि सबैसँग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे ।

मुख्यमन्त्रीलाई हम्मेहम्मे 

गत आर्थिक वर्षको बक्यौता रकम भुक्तानी नभएपछि सत्तारुढ दलकै अधिकांश प्रदेशसभा सदस्यहरुका साथै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरु नीति तथा कार्यक्रम पारित हुन नदिने पक्षमा थिए । सोही कारण गत बुधबार नै पारित हुने कार्यसूचीमा रहेको नीति तथा कार्यक्रम पारित हुन नदिन सत्तारुढ दलका सांसदहरु नै अनुपस्थित रहँदै आएका थिए ।

तर आइतबार अन्तिम दिन नीति तथा कार्यक्रम पारित नभएको भए सरकार नैतिक संकटमा पर्ने थियो । प्रदेश २ सरकारको नीति तथा कार्यक्रम पास हुन नदिन सकृय रहेका प्रदेशसभा सदस्यहरुलाई फकाउन मुख्यमन्त्री लालबाबु राउतलाई हम्मेहम्मे परेको थियो । उनले प्रदेशसभा सदस्यहरुलाई फकाउनका लागि भुक्तानी नभए आफू मुख्यमन्त्री पदबाट राजिनामा दिनेसम्मको आश्वासन दिएको श्रोतले जनाएको छ ।

असन्तुष्ट प्रदेशसभा सदस्यहरुलाई फकाउन मुख्यमन्त्री राउतले फोनमै राजीनामा दिने प्रतिबद्धता जनाएपछि आइतबार नीति तथा कार्यक्रम पारित गराउन उनकै दलका प्रदेशसभा सदस्यहरु सहमत देखिएका थिए ।

बजेट यस्तो आउने

प्रदेश- २ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि करिब २९ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ। चालु आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट ल्याउन लागेको हो।

गत आर्थिक वर्ष २०७६/७७ मा सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो। जसमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्याइएको थियो।

असार १ गते आगामी आर्थिक वर्षका लागि आउने बजेटमा स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको र बजेट तर्जुमा गर्ने काम अन्तिम चरणमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए।

संघीय सरकारबाट समानीकरणतर्फ ७ अर्ब २ करोड, सशर्ततर्फ ५ अर्ब ९४ करोड ३१ लाख, विशेष अनुदान ४१ करोड ५० लाख गरी १३ अर्ब ४० करोड ५९ लाख रुपैयाँ अनुदान प्राप्त हुने बताइएको छ। सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यसका लागि कुल बजेटको १० प्रतिशत रकम विनियोजन गर्न लागिएको सचिव श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com