भारतीय पक्षले बनाइदिएका नक्सा प्रयोगमा आउने गरेका कारण छुटिरहेथ्यो लिम्पियाधुरा



प्रकाशित मिति : Jun 15, 2020

काठमाडौं,  १ असार । नेपालको नक्सा इतिहास त्यति लामो छैन। नेपालले आफैं नक्सा बनाएको ४५ वर्ष मात्रै भएको छ। त्यसअघि भारतीय पक्षले बनाइदिएका नक्सा प्रयोगमा आउने गरेका थिए। नेपाल सरकारले पहिलो पटक २०३२ सालमा अन्तर्राष्ट्रिय सीमासहित नक्सा जारी गरेको नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओली बताउँछन्।

त्यो नक्सा ४ विकास क्षेत्र र ७५ जिल्लासहितको थियो। विभागको प्राविधिक टोलीले लिम्पियाधुरासहित नक्सा बनाएको ओलीको दाबी छ। ‘हामीले लिम्पियाधुरासहितको नक्सा तयार गरेका थियौं’, उनी भन्छन, ‘तर, भारतसँगको सीमा फाइनल नभएको भन्दै कालापानीसम्म पु¥याएर रोकियो।’

उनका अनुसार लिपुलेक र कालापानीबीच क्षेत्र खाली नै राखिएको थियो। सीमा नमिलेको भन्दै विरोध भएपछि चोसो मेटाइएको उनी बताउँछन्। त्यो नक्सा बनाउने स्थलरुप नापी महाशाखामैै उनी कार्यरत थिए। ओलीसहितका प्राविधिकको टोलीले नै त्यो नक्सा बनाएको थियो।

उनका अनुसार त्यो नक्सा पहिलो पटक हिमाल क्षेत्रको निरीक्षण ‘इन्फेक्सन’ गरी चीनतिरको सिमाना २०३६ सालमा मिलाएको हो। २०३७ सालमा पाँच विकास क्षेत्र भएकोमा त्यहीअनुसार नक्सा बन्यो। प्रत्येक जनगणनाताका पनि नयाँ नक्सा निकालिने गरेको उनी बताउँछन्।

२०३२ सालअघि भारतमै नक्सा बनाइन्थ्यो। त्यो पनि गोप्य हुन्थ्यो। जनतालाई नक्साका विषयमा थाहा नै हुँदैनथ्यो। एटलसमा पनि २०२३–२४ सालमा अमेरिकाले राखिदिएको थियो। ओली भन्छन्, त्यो बेलासम्म नक्सा गोप्य नै हुन्थ्यो। २०३२ पछि मात्रै हो यो बाहिर आएको।’ त्यो बेला विभागका महानिर्देशक अर्जुनबहादुर बस्नेत थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com