कञ्‍चनपुर : क्वारेन्टाइनबाट घर पठाइएका १४ जनामा काेराेना संक्रमण



प्रकाशित मिति : Jun 15, 2020

कञ्‍चनपुर, १ असार । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ को पर्सियास्थित स्वतन्त्र मावि क्वारेन्टाइनमा जेठ २२ मा २२ जनाको स्वाब संकलन गरिएको थियो । आठ दिनसम्म पनि परीक्षण रिपोर्ट नआएपछि उनीहरू सबैलाई शुक्रबार घर पठाइयो । तिनैमध्ये १४ जनामा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनबाट घर गएको दोस्रो दिन आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो ।

‘हामीले चार सातासम्म क्वारेन्टाइनमा राखिसकेका थियौं । स्वाब जाँच्न पठाएको पनि एक साताभन्दा बढी भएको थियो,’ लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश साहुले भने, ‘क्वारेन्टाइनमै कति दिन राख्ने ? फेरि रिपोर्ट पनि निकै ढिला आइरहेको छ ।’ लालझाडीमा शनिबार संक्रमण पुष्टि भएका १५ मध्ये १४ जना एकै क्वारेन्टाइनबाट घर गएका हुन् । उनीहरूको आइतबार साँझसम्म पनि खोजी हुन सकेको छैन ।

महाकाली नगरपालिका–९ मा पनि क्वारेन्टाइनबाट घर पठाएको दोस्रो दिन आएको रिपोर्टमा तीन जनामा संक्रमण पुष्टि भएको छ । ‘रिपोर्ट ढिलो आउँदा क्वारेन्टाइनमा रोक्नै सकिएन,’ महाकाली नगरका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले भने, ‘१०/१२ दिनसम्म पनि रिपोर्ट नआएपछि कति दिन थुनिराख्नु ?’

शनिबार कञ्चनपुरमा विभिन्न स्थानीय तहका २१ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये १५ जना लालझाडीका हुन् । लालझाडीको शंकरपुर स्वास्थ्य चौकीका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको साहुले जानकारी दिए । लालझाडीमा यसअघि पनि एक जनामा संक्रमण देखिएको थियो । स्वास्थ्यकर्मीबाहेक सबै संक्रमित भारतबाट घर आएकाहरू हुन् । याे खबर कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com