दृष्टिविहीन ९५ वर्षीय वृद्धा आमाको सुत्ने कोठा वडाले नै भत्काएपछि बिचल्ली



प्रकाशित मिति : Jun 15, 2020
  • केदार शर्मा

चितवन, १ असार । भरतपुर महानगरपालिका वडा नम्वर २१ ले गरिब तथा विपन्न वर्गमाथि थिचोमिचो गरेको घटना सार्वजनिक भएको छ । आईतबार पार्वतीपुरमा ९५ वर्षीय दृष्टिविहीन वृद्धा आमाको सुत्ने कोठा भत्काएपछि गरिब र विपन्नमाथि वडाले गर्ने तल्लो स्तरको  व्यवहार बाहिरिएको हो ।

वडा अध्यक्ष चित्रसेन अधिकारी आँफै संयोजक रहेको पार्वतीपुर खानेपानीको पाईप बिछ्याउने क्रममा ९५ वर्षीय वृद्धाको कोठामात्रै भत्काइएन उनको घरको गाह्रो समेत फोरियो । एक घर अनि त्यो घरभित्र रहेको सानो कोठा, जहाँ दृष्टिविहीन वृद्धा र अस्वस्थ रहेकाे उनका ५२ वर्षिय छोरा पदमराज अधिकारी बस्ने गर्दछन् ।

वृद्धा जन्मजात दृष्टिविहीन तथा उनका छोरा अस्वस्थ रहेका छन् । दुईजना सुत्ने कोठामा एकाएक खाडल खनेपछि अहिले उनीहरुको बिचल्ली नै भएको छ । उनीहरु जसोतसो गरी कोठामा बसेको भए पनि घरको गाह्रो भत्काएपछि घरसमेत भत्किने जोखिममा परेको छ ।

खानेपानीको पाईपलाइन बिस्तारको क्रममा घरको दायाँतर्फ ३५ थोरै भाग घुमाएको भए घर खन्नुपर्ने अवस्था नआउने स्थानीय तथा अधिवक्ता नाराययण गिरी बताउछन् । ‘सुकुम्बासी टोलमा बसेका आमा-छोरा गाँउलेको सहयोगमा जसोतसो आफ्नो जीवन गुजारा गरिरहेकै थिए । तर वडाअध्यक्ष आफै संयोजक रहेको खानेपानीको पाइप बिस्तारमा खै किन घर नै खन्नु पर्यो,’ उनले भने ।

घरको दायाँबायाँ खाली जग्गा प्रशस्तै हुँदा समेत घर नै खनेर स्थानीय सरकारले गरिबमाथि हेपाहा प्रवृत्ति देखाउन खोजेको अर्का स्थानीय बताउछन् । यता वडा नम्बर २१ का वडा अध्यक्षले आफूबाट गल्ती भएकोे भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘यो घटना कसरी घट्यो, खासमा मलाई पनि थाहा छैन । सामाजिक सञ्जालमा फोटोहरु आएपछि मात्रै थाहा पाएँ ।’ संयाेजक आफै भए पनि उनले आश्चर्यच लाग्दाे तर्क प्रस्तुत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com