आरक्षका वार्डेनविरुद्ध गाउँपालिका अध्यक्षको आरोपै आरोप !



प्रकाशित मिति : Jun 14, 2020
  • अमर काफ्ले,

इनरुवा, ३२ जेठ । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले वार्डेन रामदेव चौधरीविरुद्ध आर्थिक अनियमितता लगायतका आरोप लगाएका छन् ।

अन्सारीले कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत चौधरी तानाशाही प्रवृतिको व्यक्ति मात्र नभई आर्थिक अनियमिततामा लिप्त र हैकमवादी प्रवृतिको भएको बताए ।

वार्डेन रामदेव चौधरी

आरक्ष हातामा पत्रकार सम्मेलनको आयोजना गरेका अध्यक्ष अन्सारीले वार्डेन उपर स्थानीय तहसँग समन्वय वेगर आफूखुसी गर्ने गरेको, गाउँपालिकाले चालेका योजनाहरुमा अवरोध पु¥याउने मात्र नभई आरक्षका नाममा हुने विभिन्न कामको ठेक्कापट्टाबाट मोटो रकम उठाउने गरेको जस्ता गम्भीर आरोप लगाएका छन् ।

चोरी शिकारी बढ्दा समेत रोकथामका प्रयास चाल्नुको साटो पक्राउ परेका शिकारीहरुलाई समेत उन्मुक्ति दिलाउने जस्ता वार्डेनको कार्य निन्दनीय रहेको अध्यक्षको भनाई छ । उनले आरक्ष हाता भित्रका रुख कटान गरी विक्रि गर्ने गरेको समेत वार्डेनविरुद्ध आरोप लगाए ।

सोलार फेन्सिङका नाममा ब्रम्हलुट मच्चाएको र विभिन्न बिकासे लगायतका योजना बारम्बार एउटै ठेकेदार मार्फत गराइनुलाई समेत अध्यक्ष अन्सारीले मिलेमतोको दाबी गरे ।

पत्रकार सम्मेलनमा निकैनै खरो रुपमा प्रस्तुत भएका अध्यक्ष अन्सारीले जंगली जनावरले दुःख दिँदा र ज्यान समेत लिदा वार्डेनले वेवास्ता गर्ने गरेको बताए । जनताप्रति वार्डेनको व्यवहार रुखो रहेको भन्दै अन्सारीले वार्डेनकै कारण आरक्षको बदनाम भइरहेको समेत बताए ।

कोशी टप्पुभित्र हुने खुल्ला चरिचरणका लागि स्वयं वार्डेनकै संरक्षण रहेको समेत पत्रकार सम्मेलनमा अध्यक्षले दाबी गरे ।

अध्यक्ष ऐयुव अन्सारी

हजारौंको सख्यामा आरक्षभित्र चरणमा छाडिने चौपाया बापत वार्डेनले मासिक नजराना लिने गरेको आरोप समेत अन्सारीले लगाए । उनले खुल्ला चरिचरणका कारण संरक्षित जनावर अर्ना संकटमा पर्न थालेको जिकिर समेत गरे ।

पत्रकार सम्मेलन मार्फत एकपछि अर्को गम्भीर प्रकृतिका आरोप लगाएका गाउँपालिका अध्यक्ष अन्सारीले चौधरी वार्डेनका रुपमा कोशी टप्पुमा आएयता सबै थोक भद्रगोल बनेको बताए ।

उता गाउँपालिका अध्यक्ष अन्सारीका सबै आरोपलाई कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले झुटो भनेका छन् ।

कुनै पनि आरोपमा सत्यता नरहेको बताएका चौधरीले व्यक्तिगत रिसिवी सांध्न आफुमाथि लान्छना लगाउने काम भएको प्रतिकृया दिए । नियम संगत भएका र गर्न खोजेका कतिपय काममा गाउँपालिकाले राजनीति लाद्न खोजेकोे उनको तर्क थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com