कोरोनाको केन्द्र बन्दै रौतहट, संक्रमित ८ सय हाराहरीमा, अझै ६ हजार बढीको रिपोर्ट आउन बाँकी



प्रकाशित मिति : Jun 14, 2020
  • बाल बिक्रम कार्की,

रौतहट, ३२ जेठ । रौतहटमा कोरोना संक्रमितको संख्या आक्रामक रुपमा बढिरहेको छ । आइतबार ७६ जना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ७ सय ८८ पुगेको छ । आइतबार संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरहरुबाट हालसालै रौतहट आएका नेपालीहरु रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय गौरका अनुसार परोहा नगरपालिकामा २५ जना, राजपुर नगरपालिकामा १२ जना, ईशनाथ नगरपालिकामा २२ जना, देवाही गोनाही नगरपालिकामा ७ जना माधवनारायण नगरपालिकामा १ जना, चन्द्रपुर नगरपालिकामा ५ जना, बृन्दावन नगरपालिका तथा यमुनामाई गाँउपालिकामा २/२ जना गरी ७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।


संक्रमित रहेका सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको र उनीहरुको जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा राखेर उपचार गर्ने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ७ हजार २ सय ४० जना रहेका छन् । जसमध्ये ६ हजार ८ सय ९८ पुरुष र ३ सय ४२ महिला रहेका छन् । त्यसैगरी क्वारेन्टाइनबाट घर फर्कनेको संख्या ३ हजार ५ सय ६५ रहेको छ ।

जिल्लामा अझैपनि ६ हजार बढीको स्वाब परीक्षणको रिर्पोट आउन बाँकी रहेको छ । सबैको रिर्पोट आइसक्दा संक्रमितको संख्या करिब १५ सय हाराहारी पुग्नसक्ने स्थानीय प्रशासनको अनुमान रहेको छ ।

४ वटा प्रदेशलाई उछिन्यो रौतहट एउटा जिल्लाको संख्याले

रौतहट जिल्लाले कोरोना संक्रमण पुष्टि भएका संख्याको आधारमा ४ वटा प्रदेशलाई उछिनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारसम्मको अपडेट अनुसार प्रदेश १ मा ३७३, प्रदेश २ मा २१०६, बाग्मती प्रदेशमा २१४, गण्डकी प्रदेशमा १९४, प्रदेश नम्बर ५ मा १६३५ , कर्णाली प्रदेशमा ९८२ र सुदुरपश्चिम प्रदेशमा २५६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितको संख्याको आधारमा रौतहटभन्दा प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश पछाडि रहेका छन् ।

हालसम्म समुदायमा नफैलनु सुखद् पक्ष

जिल्ला पुष्टि भएका संक्रमितहरुमध्ये एकजना बाहेक सबै भारतका विभिन्न सहरबाट आएर क्वारेन्टाइनमा बस्नेहरु रहेका छन् । जिल्लामा आजसम्म समुदाय स्तरमा संक्रमित नदेखिनु सुखद् पक्ष भएको नेपाल पत्रकार महासंघ रौतहटका कोषाध्यक्ष रमेश तिमल्सिना बताउनुहुन्छ ।

भारतमा कोरोनाको महामारी फैलिएको अवस्थामा नेपाल फर्किएको र फर्किने क्रममा विभिन्न सहरहरु र हजारौँ मानिसहरुको भीडबाट आएकाले पनि उनीहरुमा संक्रमण बढी देखिएको उहाँको अनुमान छ ।

‘हालसम्म भेटिएका कोराना संक्रमितहरु क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भएकाले समुदायमा संक्रमण फैलिन पाएको छैन् ’ उहाँले भन्नुभयो, ‘अब लकडाउन खुकुलो भएसँगै सो जोखिम भने बढेको छ । त्यसैले सबैले सचेत हुन अत्यावश्यक रहेको छ । जिल्लामा पछिल्लो समय लकडाउन खुकुलो भएसँगै संक्रमण समुदायमा पुग्ने हो कि भन्ने डर स्थानीयमा रहेको छ ।

रिपोर्ट ढिलो आउँदा क्वारेन्टाइनमा तनावको स्थिति सिर्जना

जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेकाहरुको स्वाव परीक्षणको रिर्पोट आउन ढिला भएकाले प्रत्येक दिन क्वारेन्टाइनहरुमा तनावको स्थिति सृजना हुने गरेको छ ।

क्वारेटाइनमा बसेकाहरुको स्वाब संकलन गरेर परीक्षणको लागि पठाएको १५/२० दिनपछि पनि रिर्पोट नआउनाले क्वारेन्टाइनमा बस्नेहरु र उनका आफन्तहरु दैनिकजसो क्वारेन्टाइन स्थलमा नाराबाजी गर्ने गरेका छन् ।

कतिपय क्वारेन्टाइनमा बसेकाहरु घर जान पाउनुपर्छ भन्दै क्वारेन्टाइनबाट बाहिर निस्कने गरेका छन् । उनीहरुलाई घर जानबाट रोक्ने क्रममा प्रहरीसँग झडप पनि हुने गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुले आफुहरु क्वारेन्टाइनमा बसेको २० दिनभन्दा पनि बढि भइसकेको र रिर्पोट आउँदा महिना दिन बढी भइसक्ने भन्दै आफुहरुलाई घर जान दिन माग गर्दै आएका छन् ।

उनीहरुले क्वारेन्टाइनमा लामो समय बसिरहनुपर्दा मानसिक र सारिरिक तनाव बढ्दै गएको भन्दै अझ समयमा रिर्पोट नआउनाले तनाव थपिएको जिकीर गरेका छन् ।

३ सय बढी क्वोन्टाइनबाट निस्केर आन्दोलनमा

शनिबार राजपुर नगरपालिकाको विभिन्न क्वारेन्टाइनमा बसेका ३ सय बढी क्वारेन्टाइन बाहिर निस्किएका थिए । समयमा रिपोर्ट नआएको विरोधमा बहुअर्वा र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकाहरूले शनिबार गौर चपुर सडकखण्डको बहुअर्वामा सडक अवरुद्ध गरेका हुन् ।

सो क्रममा प्रहरी र क्वारेन्टाइनमा बसेकाहरु बीचमा झडप भएको थियो । प्रदशर्नलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास र २ राउण्ड हवाई फायर गर्नुपरेको छ । सो क्रममा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका थिए ।

सो राजपुर नगरपालिकामा मात्र २ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने अझैपनि २ हजार बढीको स्वाव परिक्षणको रिर्पोट आउन बाँकी रहेको छ ।

यता शनिबारनै रौतहटको देवाही गोनाही स्थित श्री जय किसान उच्च माविको पोलि टेक्निकल इन्टिच्युटको भवनको क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरू भोक हडतालमा बसेका थिए ।

उनीहरूले आफुहरूको स्वाव संकलन गरेको २०/२२ दिन भइसक्दा पनि रिपोर्ट नआएको भन्दै कि रिपोर्ट चाहियो कि घर जान पाइयोस् भनेर माग राख्दै आएका छन् ।

स्थानीय प्रशासनले स्वाव संकलन गरेर परिक्षणको लागि टेकु पठाएको लामो समयसम्म पनि रिपोर्ट नआएको भन्दै आइतबार नेपाली सेनाको विशेष टोली आएर स्वाव संकलन गरेर एकदुई दिनमै रिपोर्ट दिने तयारी गरेको बुझ्न आएको छ ।

तर सो क्वारेन्टाइनमा बसेका २ सय ५० बढि व्यक्तिहरु अब फेरि आफुहरू स्वाव परीक्षण नगर्ने भन्दै आएका छन् । उनीहरूले पहिला संकलन गरेको स्वाव परिक्षण रिपोर्ट २० दिन बितिसक्दा पनि नआएको र फेरि संकलन गरे अर्को कती दिनमा आउने हो र अझै कतिदिन क्वारेन्टाइनमा बस्नुपर्ने हो भन्ने प्रश्न गरेका छन् ।

सो क्वारेन्टाइनमा साना बालबालिकाहरु पनि रहेकाले उनीहरुलाई पनि निकै सास्ती भइसकेको अभिभावकहरुको गुनासो छ ।

जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु क्वारेन्टाइनमा बसेकाहरुको निशानामा

यसरी पीसीआर परीक्षणको रिर्पोट नआउनाले क्वारेन्टाइनमा बसेकाहरुको निशानामा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी पर्न थालेका छन् ।

समयमै स्वाव परीक्षणको नतिजा नआउनाले दैनिक क्वारेन्टाइमा तनाव हुने गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको गुनासो रहेको छ ।

स्वाव संकलन गरेर पठाएको १५–२० दिन बितिसक्दा पनि रिर्पोट नआएकाले क्वारेन्टाइन व्यवस्थापन तथा त्यहाँ बस्नेहरुलाई सम्झाउन प्रहरी प्रशासनलाई निकै हम्मेहम्मे परेको उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com