९९९९ शाक्यहरुको सामूहिक संहार गरिएको ऐतिहासिक स्थलको अतिक्रमित भूमि फिर्ता हुने



प्रकाशित मिति : Jun 14, 2020
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, ३२ जेठ । ९ हजार ९ सय ९९ शाक्यहरुको सामूहिक बधस्थलकारुपमा मानिएको कपिलवस्तु नगरपालिका स्थित ऐतिहासिक र पुरातात्विक स्थल सगराहवामा अतिक्रमित भूमि अधिग्रहण गरिने भएको छ ।

बर्षौदेखि अतिक्रमणको चपेटामा परेको सगहरावका तालको अतिक्रमित २९ दशमलव ५३ हेक्टर जमिन अधिग्रहण गरिने भएको हो । लुम्बिनी विकास कोष ऐन २०४२ को दफा २ मा भएको बृहत्तर लुम्बिनी विकास कोषको क्षेत्र अन्तर्गत सहराहवामा अतिक्रमित भएको भूमि अधिग्रहणको प्रकृया अन्तिम चरणमा पुगको हो ।

कोषका सदस्य राजेश ज्ञवालीले कोषले गरको एक बर्षको प्रयासले अतिक्रमणमा परेको २९ दशमलव ५३ हेक्टर जमिन कोषको नाममा आउने भएको बताउनुभयो ।

जग्गा अधिगग्रणका लागि नगरपालिको वडा नम्बर ९, ६ तथा कपिलवस्तु नगरपालिकाले समेत सिफारिस गरी सकेको छ । यस्तै डिभिजन वन कार्यालय कपिलस्तुको सिफारिसमा २०७६ मंसिर २९ गतेको प्रदेश नम्बर ५ को उदोग पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरीय निर्णय समेत भएको छ ।

अतिक्रमित जग्गा अधिग्रहण गरिए पछि सगरहवाको कुल क्षेत्रफल ७४ दशमलव ८२ बिघा हुने छ । अतिक्रमित जग्गामा घर निर्माणका साथै खेतीपाती गरिएको छ । अतिक्रमित जग्गा मध्ये सगराहवा सामुदायिक वनको नौ दशमदव २७ हेक्टर क्षेत्र समेत परेका वन कार्यालयले जनाएको छ ।

अब सगराहवा क्षेत्र तिलौराकोट जाने बाटो, पश्चिम रन्जकीया कुलो, उत्तरमा कनकमुनी उमाबिको दुइ तले भवन छाडी र दक्षिणमा साबिक पुरानो बाटो चौकिल्ला कायम भएको छ । ‘ जग्गा अधिग्रहणको प्रकृया अन्तिम चरणमा पुगको छ , सिमांकनका लागि नापी कार्यालयमा पत्राचार गरेका छौ ’ कोषका सदस्य ज्ञवालीले भन्नुभयो ।

अतिक्रमणमा परको जमिनको संरक्षण समते नभएको र महत्वपूर्ण सम्पदा क्षेत्र भएकाले अतिक्रमित क्षेत्रलाई कोषको मातहतमा ल्याउने गरी सिफारिस दिईएको डिभिजन वन कार्यालयका प्रमुख ईश्वरी प्रसाद पौडेलले बताउनुभयो ।

कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले अधिग्रहण गर्ने क्षेत्र भित्र परेको बस्तीको समेत उचित ब्यवस्थापन गरी संरक्षण र विकास गर्नु पर्ने बताउनुभयो । ‘ हामीले अतिक्रमति जमिन कोषलाई जिम्मा लगाएका छौं, अब यसको विकास र संरक्षणमा ढिलाई गर्नु हुर्दैन ।

सदरमुकाम तौलिहवाबाट ९ किमी उत्तर पर्ने ठाउ बौद्ध धर्मावलम्बीको महत्वपूर्ण स्थल हो । यहाँ ९ हजार ९ सय ९९ शाक्यहरुको सामुहिक बध गरिएको चिनियाँ स्रोतले उल्लेख गरेको वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले बताउनुभयो । कतिपयले ७७ हजार शाक्यहरुको बधस्थल पनि मान्ने गरेका छन् ।

इतिहासमा लेखिए अनुसार राम्रो कुल मानिने शाक्य गणराज्यसंग नाता सम्बन्ध गास्न कौशल नरेश प्रसेनजितको विवाह शाक्य कुलमा गराईएको थियो । त्यहाँ उनको बासभ खत्तियासंग विवाह भएको थियो ।

त्यसपछि प्रसेनजितका छोरा विरुद्धक आफ्नो मामा घर प्राचीन कपिलवस्तु (तिलौराकोट) मा उनले खाएको ठाउँमा लिपपोत गरेर दुधले धोएर चोख्याईएको देखेपछि के गरेको भनेर विरुद्धकले सोधे , त्यसपछि आफ्नी आमा दासीपुत्री भएकाले यस्तो गरेको थाहा पाएपछि उनी क्रोधावेशमा आए ।

त्यसपछि शाक्य राज्यमा आक्रमण गरी सयौं शाक्यहरुको बध गरेको कुरा बौद्ध ईतिहासमा उल्लेख गरिएको छ । त्यो ठांउ अहिलेको सगरहवा भएको बताईएको छ ।

सातौं शताब्दीमा बुद्धस्थल तिलौराकोट आएका चिनियाँ पैदल यात्री ह्वेङ साङले पनि आफनो यात्रा विवरणमा सगरहवामा शाक्य शाक्यहरुको बधस्थल भएको उल्लेख गरेका छन् ।

सन् १८९७ मा जर्मन सर्भेयर डा. फ्युहररले यहा उत्खनन् गरेका थिए । पोखरी दक्षिण ८ र पश्चिम ९ स्तुप फेला पारेका थिए । त्यस मध्ये १२ स्तुपमा अस्तु पात्र रहेको उल्लेख भएको वरिष्ठ पुरातत्वविद् बिडारीले बताउनुभयो ।

१८९९ मा भारतीय पुरातत्वविद् पिसी मुखर्जीले त्यसको ड्रोईङ (नक्सा) बनाएका थिए । पोखरी पश्चिम रहेको खाल्डोमा पनि मुखर्जीले ४९ ससाना कोठा रहेको ड्रोईङ (नक्सा) बनाएर छाडेका छन् । त्यस यता यहाँ उत्खनन् हुन सकेको छैन् ।

शाक्यवंशिय ईतिहाससंग दुःखको सम्बन्ध राख्ने हुनाले यहाँ आउने अधिकांश बौद्ध तिर्थालुहरु पूजाआजा गर्न आउछन् । अकालमा मरेका मृत आत्माको चीर शान्तिको कामना गर्छन् । पुण्यानुमोदन गर्छन् । धार्मिक पूण्य सञ्चय गरेर फर्कन्छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com