एक गेडो धान उत्पादन नभएपछि किसानले हर्दिनाथ धानको बोटमा आगो लगाउदै ट्याक्टर चलाए



प्रकाशित मिति : Jun 14, 2020
  • केदार शर्मा,

चितवन, ३२ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिका ४ वेलुवाका किसानले लगाएको धान उत्पादन नभएपछि आइतबार ट्याक्टर लगाएर धानको बोटसहित जोतेका छन् ।

स्थानीय कमलप्रसाद तिवारीले २२ कठ्ठा जग्गामा लगाएको हर्दिनाथ ४२–४२ जातको धानमा रोग लागेपछि राखेर केही फाइदा नहुने भन्दै ट्याक्टर लगाएको किसान तिवारीले गुनासो पोखे ।

तिवारीले २२ कट्ठा जग्गा ठेक्का लिएर खेती गर्दै आएका छन् । अहिले उनको खेतको सबै धानमा पपटा मात्रै रहेको छ । ती जग्गाबाट एक मुठी पनि धान आएको छैन ।

जोताईदेखि रोग लागेपछि विषादी प्रयोग गर्दासम्म ५५ हजार रुपैयाँ खर्च गरेको तिवारी बताउँछन् । उनले प्रति कट्ठा २ हजार ५ सय रुपैयाँ वार्षिकरुपमा भाडा तिर्दै आएका छन् । उनले आफ्नो किसानी जीवनमा यसअघि यस्तो घटना कहिल्यै भोगेका थिएनन् ।

अघिल्लो वर्ष २२ कठ्ठामा ५५ क्वीन्टलसम्म धान उत्पादन भएको थियो । ‘तीन दिनमा सबै सखाप पा¥यो’ किसान तिवारीले भने ।

उनकै साँधमा खेती गर्दै आएका वुद्धिराज खरेलको पाँच कट्ठा जग्गामा पनि हर्दिनाथ–१ जातको धानमा यस्तै समस्या देखिएको छ । उनले आगो लगाएर नष्ट गर्ने प्रयास गरे तर बोट हरियो भएकाले आगो लाग्न सकेन ।

उनले चैत १० गते धान रोपाई गरेका थिए । उनको पनि तीन दिनमै सबै सखाप भयो । ‘धान झुल्दा राम्रो उत्पादन हुने आशा थियो’ किसान खरेलले भने, ‘पाँच कट्ठामा १६, १७ बोरा उत्पादन हुन्थ्यो, अहिले एउटा गेडो पनि नआउने भयो ।’

उनले धान रोप्दा ११ हजार रुपैयाँ खर्च भएको सुनाए । वेलुवाकै किसान राधिका क्षेत्रीले धान उत्पादन नभएपनि परालका लागि भने धानको बोट काटेकी छन् । ठूलो मेसिनको प्रयोग गरेर उनले परालका लागि धानको बोट कटान गरेको बताईन् ।

उनले १२ कट्ठा जग्गा ठेक्कामा लिएका छन् । शुक्रबार परालका लागि धानको बोट काटिएको उनले सुनाइन् । यस अघि गत बर्ष देशभरका किसानहरुलाई गरीमा जातको धानले यस्तै विचल्ली बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com