कोरोनाको कहरबीच लाग्दै असार, भय त्यागेर किसानहरु मानो रोपेर मुरी उब्जाउने प्रयासमा



प्रकाशित मिति : Jun 14, 2020
  • दानबहादुर बुढा,

मुगु, ३२ जेष्ठ । हिमाली जिल्ला मुगुमा यतिबेला धान रोप्ने चटारो छ । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका, पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका र जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिकाकाका केही गाउँहरुमा आज भोलि धान रोप्ने चटारो चलेको हो ।

नेपाल सरकारले जारी गरेको लकडाउनबीच मुगाली किसानहरु सामाजिक दुरी कायम गर्दै आफ्नो खेतवारीमा रोपाईका लागि व्यस्त रहने गरेका छन् । मुगुका किसानलाई यहाँको चिरपरिचित मार्सी धान रोप्न भ्याइनभ्याई भएको हो ।

रोपाईंको समयमा कृषकहरुले रमाइलो गरेर खेतमा नाच गान,दोहारी गीत गाउँदै एक आपसमा रमाउदै धान रोप्ने चलन छ । विभिन्न गीत गाउँदै रोप्ने परम्पराले जिउलोमा रौनकता छाएको छायाँनाथ रारा नगरपालिका वडा नं ५ का किसान सिहंराज विकले बताउनुभयो ।

कोरोना भाइरस संक्रमण हुने डरले सबै रोपार र हलीहरुले सावधानी अपनाएका छन् । सबैले मास्क लगाएका छन्, दुरी कायम गर्दै काम गरिरहेका छन् । पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि कृषकमा मार्सी र स्थानीय धान रोपाईं प्रति आकर्षण बढेको छ ।

मुगुमा उत्पादन हुन स्थानीय रातो धान, मार्सी, चन्दनाथ १ र ३ चामलको स्वाद निकै मीठो हुने भएकोले अहिले यसको माग बजारमा निकै बढिरहेको छ ।

यो बर्ष गर्त बर्षको भन्दा धान रोपाई छिटो भएको छ । बिश्वमा फैलिएको महामारी कोरोना भाइरसको संक्रमित मुगुमा पनि देखा परेको अबस्थामा नियमित धान रोप्ने समयमा रोपार र हल गोरु नभेटिने होकी भन्ने आशंकाले यो बर्ष १५–२० दिन पहिले नै खेत रोप्न थालिएको सोरु गाउँपालिका वडा नम्बर ८ का कृषक पबित्रा रावलको भनाइ छ ।

अर्का कृषकले पनि संक्रमितहरु पछि बढ्न सक्ने सम्भावना देखिएकोले नियमित रोप्ने समय पूर्व नै यसपटक धान रोपाई थालिएको बताए । बिगतका बर्षहरु भन्दा यो बर्ष मुगुमा समयमा नै आकाशे पानि परेको हुनाले पनि धान रोपाई बिगतका बर्षहरु भन्दा छिटो भएको किसानहरुको भनाइ छ ।

१५–२० दिन छिटो धान रोपाईले धान उत्पादनमा खासै फरक नपर्ने र यो बर्ष अहिले नै मुगु जिल्लामा ७२ प्रतिशत धान रोपाई सकिसकेको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख पञ्चलाल बुढाले बताउनु भयो ।

 

  


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com