अहिलेको समयमा बैंकहरुले अस्वभाविक नाफा खोज्न नहुने अर्थमन्त्रीको भनाइ



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं, ३२ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीको समयमा बैंकले अस्वाभाविक नाफा खोज्न थालेमा उद्योग मर्ने र बैंकहरू अप्ठ्यारोमा पर्ने बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक, २०७७ माथिको दफावार छलफलका क्रममा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो ।

अस्वभाविक नाफाको स्थितिबाट अहिले बैंकहरू जान खोजेमा उद्योगहरू मर्ने र बैंकहरू पनि अप्ठ्यारोमा पर्ने कुरा आफूले बारम्बार भन्दै आएको मन्त्री खतिवडाको भनाइ छ ।

अहिलेको समयमा बैंकहरूको स्प्रेड ५ प्रतिशतभन्दा तल रहेको र असार मसान्तभित्रमा ४ प्रतिशतमा ल्याउने भन्ने राष्ट्र बैंकको योजना रहेको उहाँले बताउनुभयो । त्यस्तै, उहाँले आगामी दिनमा मौद्रिक नीति मार्फत सरकार र राष्ट्र बैंकले कम गर्ने जानकारी पनि गराउनुभयो ।

अहिलेको समय राजस्वको स्थिति अप्ठ्यारो रहेको सरकारको तथ्यांक रहेको बताउँदै उक्त राजश्वले दैनिक खर्च धान्ने स्थिति नभएको बताउनुभयो । साथै, लकडाउन खुकुलो पारिएसँगै मुलुकको अर्थतन्त्र विस्तारै चलायमान हुँदै गएको पनि उहाँको भनाइ छ ।

त्यस्तै उहाँले व्यवसायिक वातावरण खुकुलो हुँदै गएको पनि बताउनुभयो । त्यस्तै, केही हदसम्म व्यवसायिक वातावरण खुकुलो पार्दा आन्तरिक व्यापार विस्तार हुँदै गरेको र आयात पनि सामान्य अवस्थामा फर्किने क्रममा रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com