लकडाउनको औपचारिक अवधि आजदेखि सकिँदै, सन्देश बोकेर ट्राफिक प्रहरी सडकमा



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं, ३२ जेठ । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन आज राति १२ बजेदेखि टुंगिँदैछ । अन्तिमपटक घोषणा गरिएको लकडाउनको अवधि आजसम्म कायम रहने सरकारले निर्णय गरेको थियो ।

तर गत बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय लिएसँगै जेठ ३२ सम्मको औपचारिकता अनौपचारिक बनेको थियो ।  ‘अब नयाँ मिति घोषणा हुने सम्भावना छैन तर लकडाउन पूर्णरुपमा हट्दैन पनि, सरकारले अहिले समग्र देशको वस्तुस्थितिको मूल्यांकन गरिरहेको छ,’ एक मन्त्रीले न्यूज २४ लाई बताउनुभयाे ।

अब समग्र नेपाली जनताले अपनाउने अनुशासन र पालना गर्ने नियमहरु नै लकडाउनको मान्यताभित्र पर्ने पनि ती मन्त्रीको भनाइ छ । तर कोरोना भाइरस संक्रमणको जोखिमलाई लिएर असहज परिस्थिति आए सरकारले तुरुन्तै कठोर निर्णय लिन सक्ने पनि उहाँले बताउनुभयाे ।

लकडाउन खुकुलो पार्दा सडक र सहर सहज देखिएका छन् भने सरकारी तथा निजी कार्यालयहरु सामाजिक दूरी र विश्व स्वास्थ्य संगठन डब्ल्युएचले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको निर्देशिका अनुरुप सञ्चालन हुने प्रयासमा छन् । अझै पनि धेरै क्षेत्रमा लगाइएको प्रतिबन्ध कायम छ भने ती क्षेत्रहरुलाई पनि विस्तारै सहज बनाउने तयारीमा सरकार रहेको छ ।

काठमाडौं उपत्यकामा कोराना भाइरस जोखिम अझै पनि उच्च रहेकोले सबैलाई सचेत रहन पनि सरकारले आग्रह गरिसकेको छ ।

ट्राफिक प्रहरीमाथि दायित्व बढ्यो

आजदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु नै सचेतना जगाउँदै ठाउँठाउँमा विभिन्न सुझाव अंकित प्लेकार्डहरु बोकेर उभिएका छन् ।

झण्डै ३ महिना सुनसान रहेका काठमाडौंका सडकहरुमा शुक्रबारदेखि जोर-बिजोर प्रणालीबाट सवारी साधन गुड्न थालेका छन् । लामो समयपछि एकैपटक सडकमा सवारी साधन आउँदा र त्यसमाथि विभिन्न मापदण्ड तोकिएकोले ट्राफिक प्रहरीकाे दायित्व बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकाल बताउनुहुन्छ ।

उहाँले अहिले ट्राफिक प्रहरीले जोर-विजोर नियमको पालना गरे/नगरेको, सामाजिक दूरी कायम भए/नभएको, मास्कको प्रयोग गरे/नगरेको, ट्राफिक नियमको पालना गरे/नगरेको, अत्यावश्यकीय सेवा अन्तर्गत चलेका सवारी साधनहरुले तोकिएको मापदण्ड पूरा गरे/नगरेको र पैदल हिँडेका यात्रीले समेत सामाजिक दूरी कायम गरे/नगरेको ध्यान दिनु परिरहेको बताउनुभयो ।

प्रमुख ढकालले प्लेकार्ड बोकेर ट्राफिक प्रहरीले दिन खोजको सन्देश ग्रहण गरिदिन आग्रह गर्दै कोरोना भाइरसको संक्रमण रोकथामका लागि सबैमा सचेतना आवश्यक रहेको बताउनुभयो ।

तस्वीर : महेश्वर केसी


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com