पर्वत पहिरो अपडेट : थप २ जनाको शव फेला, ४ जना अझै बेपत्ता



प्रकाशित मिति : Jun 14, 2020
  • सुवाष लामिछाने

पर्वत, ३२ जेठ  ।  पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङमा पहिरोमा पुरिएका थप दुई जनाको शव फेला परेको छ ।

आइतबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार कार्य गरेपछि बेपत्ता रहेका ३२ वर्षीया कमला विक र ३० वर्षीय दिर्पा थापाको शव फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए ।

याेसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । तीन जनाको शव राति नै पुरिएको अवस्थामा फेला परेको थियो । ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र १० वर्षीया नातिनी बिबिशाको शव राति नै फेला परेकाे थियाे ।

अझै चार जना भने  वेपत्ता नै छन् । १४ वर्षीय सम्राट थापा, १७ वर्षीय विवेक थापा, कमला विकका छोरा १६ वर्षीय जेनिस र छोरी सात वर्षीया प्रमिशा अझै  वेपत्ता छन् ।

शनिबार भीषण वर्षा सहित खसेको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरेको थियो ।पहिरो घरभन्दा झन्डै ३०० मिटर माथिबाट आएको छ ।

राति उद्धारमा कठिनाइ भएपछि आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरिऐका छ । एक्साभेटर सहायताले उद्धार सुरु गर्ने भनिएकोमा बिहानैदेखि भएको वर्षाका कारण ढिलो गरी उद्धार सुरु भएको हो ।

अहिले भने वर्षा रोकिएका कारण उद्धारमा सहज भएको छ । स्थानीय प्रभु गुरुङका अनुसार पहिरो गएको स्थान सडकभन्दा धेरै तल रहेका कारण घटनास्थलमा एक्साभेटर जाने सम्भावना नभएकाले मानिसले उद्धार गरिरहेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com