लकडाउन खुकुलो पारिएसँगै वीरगञ्जबासीको जनजीवन सामान्य बन्दै



प्रकाशित मिति : Jun 13, 2020

हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), ३१ जेठ । नेपाल सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै वीरगञ्जको जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले जोर–बेजोर प्रणाली अन्तर्गत निजी सवारी साधान सञ्चालन गर्न तथा पसलहरु खोल्ने अनुमति दिएसँगै वीरगञ्जको जनजीवन सामान्य बन्दै गएको हो ।

विहानदेखि साँझसम्म पसलहरु खुल्दा व्यापारीहरुलाई पनि राहत पुगेको छ । किनमेल गर्न पाउँदा सर्वसाधारणहरुलाई राहत महसुस भएको छ । करिब तीन महिनादेखि लकडाउनको कारण घरमै थुनिएर बसेका कारण आजित बनेका सर्वसाधारणहरु विहान बेलुका बजारमा निस्कन पाएका छन् ।

दैनिक जीवनमा प्रयोग हुने सामानहरु किन्न पाएका छन् । विस्तारै प्रशासनले लकडाउनलाई खुकुलो पारेपछि सम्भवतः सबै निकायका नागरिकहरु आफ्नो दैनिकीतर्फ उन्मुख भइरहेका छन् । साना तीना व्यापारीहरुले पनि पसल खोल्न पाएका छन् ।

त्यस्तै, दैनिक ज्यालादारी गर्ने मजदुरहरुले पनि केही हदसम्म राहत महसुस गर्न थालेका छन् । लकडाउनका कारण विशेष गरी न्यून आय भएका नागरिकहरु चरम मारमा परेका थिए । त्यस्तै, हुने खानेहरुको जीवनलाई पनि लकडाउनले अस्तव्यस्त बनेको थियो ।

नेपाल सरकारले लकडाउनलाई खुकुलो पार्ने निर्णय गर्नुभन्दा अगाडिनै पनि जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा सतर्कता अपनाएर लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई आधार मान्दै एक हप्ता अघि वीरगन्ज बजार दुई दिनका लागि खुलेको थियो तर, जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनको पालना नभएको भन्दै पुनः वीरगन्ज बजार बन्द गरिएको थियो ।

कोरोना संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा खासै प्रभावकारी नदेखिएपछि जनताहरु लकडाउनको विकल्प खोज्न माग गर्दै चौतर्फी आन्दोलनमा उत्रिएका थिए ।

हालसम्म वीरगन्जमा २ जना संक्रमितको ज्यान गइसकेको छ । त्यस्तै, ३९ जना संक्रमितहरुको उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com