भरतपुर कोरोना अस्पतालमा रहेका १८ जना संक्रमितलाई भरतपुर अस्पतालमा सारियो



प्रकाशित मिति : Jun 13, 2020

केदार शर्मा/शरद आचार्य,

चितवन, ३१ जेठ । भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा रहेका १८ जना कोरोना संक्रमितलाई भरतपुर अस्पतालमा सारिएको छ ।

कोरोना अस्पतालको शौचालयमा समस्या देखिएपछि मर्मतको लागि भन्दै संक्रमितलाई भरतपुर अस्पताल सारिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

संक्रमित भएको ठाउँमा मर्मतसम्भारको काम गर्न नमिल्ने भएकाले संक्रमितलाई सारिएको हो । सो ठाउँलाई निर्मलीकरण गरेर मर्मतसम्भार गरेर पुनः सङ्क्रमित राखिने अस्पतालका मे.सु. तिवारीले जानकारी दिए ।

कोरोना संक्रमितहरुलाई भरतपुर अस्पतालको हाडजोर्नी र सर्जरी विभागमा राखिएको छ । भरतपुर अस्पतालले हाडजोर्नीकालाई स्पाइनल र सर्जिकललाई मेडिकल वार्डमा सारेर ठाउँ खाली गरिएको थियो । ती दुई वार्ड र क्याविनमा ६५ सङ्क्रमित राख्न सकिने तिवारीले जानकारी दिए ।

अस्पतालले कोभिड–१९ का लागि १० शैय्याको सघन उपचारकक्ष तयारी अवस्थामा राखेको छ । भरतपुर महानगरपालिकाले स्थापना गरको कोरोना अस्पतालको व्यवस्थापन वैशाख १ गतेबाट भरतपुर अस्पतालले हेर्दै आएको छ ।

कोरोना अस्थायी अस्पतालबाट संक्रमित बिरामीलाई संयुक्त एम्बुलेन्स चालक समितिले लगेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com