प्रहरी प्रवक्ता आफैले कोरोना सम्वन्धी झुटो सूचना दिएपछि…



प्रकाशित मिति : Jun 13, 2020

अमर काफ्ले,

इनरुवा, ३१ जेठ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी विनोद शर्माले कोरोना सम्वन्धी दिएको झुटो सूचनाका कारण झण्डै २४ घण्टा नगरवासी त्रासमा बसे ।

स्थानीय पपुलर एफएमको कोभिड–१९ सम्वन्धी कार्यक्रममा प्रवक्ता शर्माले इनरुवामा रहेको बैंकका एकजना व्यक्ति कोरोना संक्रमित भेटिएको बताएका थिए ।

राति ८ बजे प्रशारित उक्त कार्यक्रममा पत्रकार अजित झासँगको कुराकानीमा डीएसपी शर्माले कोरोना पोजेटिभ पाइएका व्यक्ति सँगको कन्ट्याक ट्रेसिङका आधारमा परिवारका व्यक्तिहरुको समेत चेकअपको तयारीमा रहेको भन्ने जवाफ फर्काएका थिए ।

एफएमबाट उक्त कार्यक्रम प्रशारण भएलगत्तै इनरुवामा रहेका बैंकका कर्मचारी तथा स्थानीयहरुले स्थानीय सञ्चारकर्मीहरुलाई सो बारे जिज्ञासा राखेका थिए ।

तारमतारको फोन पश्चात खबरको पुष्टिका लागि आ–आफ्नो स्रोतसँग विषय वस्तु खोतलेका सञ्चारकर्मीहरुले खबरको आधिकारिक पुष्टि नपाएपछि सोही व्यहोरा जानकारी गराएका थिए ।

गएराति मात्रै नभएर आज दिउँसोसम्म उक्त खबरले इनरुवावासीमा सनसनी मचाई रह्यो । डीएसपीको आवाज प्रशारण गर्ने एफएमदेखि अन्य सञ्चारकर्मी सबैको मोबाइलमा आउने फोनको घण्टीमा धेरैजसोले बैंकका कर्मचारीमा भेटिएको भनिएको कोरोना पोजेटिभ कुन बैंक को हो ? भनेर सोध्ने मात्रै थिए ।

डीएसपीले बोलेको विषय भएकाले पनि अविश्वास गरिहाल्न समेत नमिल्ने अधिकांशको तर्क थियो । तरपनि उनीहरु दोधारमा देखिन्थे । बैंकको कर्मचारी भएको भए किन बैंक सिल गरिएन ? कुन बैंकको भनेर किन जानकारी गराइएन ? भन्ने जस्ता जिज्ञासा उनीहरुले बारम्बार प्रकट गरिरहेका थिए । उनीहरुमा त्रासमा देखिन्थे ।

बाटामा भेटिनेदेखि सबैजसो जसले उक्त खबर बारे थाहा पाए । सबै अत्तालिएका देखिन्थे । किनकी, लक डाउनमा टाइम कार्ड लागू गरी खुलेका बैंकहरुमा कारोवारका लागि पुग्नेको लर्को इनरुवाका सबैजसो बैंकमा उत्तिकै देखिन्थ्यो । स्वयं बैंकका कर्मचारीहरु समेत अत्तालिएका थिए ।

नगरवासीमा समेत झण्डै २४ घण्टा त्रासको वातावरण देखियो । यद्यपी सो विषय स्वास्थ्य कार्यालय सुनसरी मात्रैले नभएर प्रहरीकै स्रोतले समेत पुष्टि गर्न सकेन । सुनसरीका प्रहरी प्रमुख कमल थापाले बैंकमा काम गर्ने व्यक्ति कोरोनाको आशंकामा चेकजाँचका लागि अस्पताल पुगेको भन्ने खबर आफूकहाँ आएको भएतापनि कोरोना संक्रमित नै पुष्टि भइसकेको भन्ने विषय जानकारीमै नरहेको बताए ।

के आधारमा डीएसपीले कोरोना संक्रमित भनेर बोलेका हुन् भन्ने विषय आफुले सोधखोज गर्ने थापाले बताए । उता सुनसरी प्रहरीका प्रवक्ता बिनोद शर्माले आफूबाट गल्ती भएको स्विकारे ।

उनले लकडाउनमा सामाजिक दूरी कायम नभएको र भीडभाड बढेकाले सावधानी अपनाउन जिल्लावासी समक्ष आग्रह गरिरहँदा परिक्षणका लागि अस्पताल पुगेका व्यक्तिमा कोरोना पोजेटिभ भनी आफूले भुलवस बोलेको प्रतिकृया दिए ।

सो विषयमा उद्योग वाणिज्य संघ मार्फत सबै बैंकलाई जानकारी गराई दिन समेत आफूले आग्रह गरिसकेको उनले बताए । शर्माले कोरोनाको आशंका गरिएका व्यक्तिको रिपोर्ट समेत नेगेटिभ आएको जानकारी दिए ।

डीएसपी शर्माले आफूबाट गल्ती भएको बताए पनि सर्वसाधारणहरुले भने जिम्मेवार व्यक्तिबाटै कोरोना सम्वन्धी भ्रामक खबर फैलाइनु दुखद् भएको बताइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com