कालापानीमा नेपालीको हक स्थापित नभएसम्म राष्ट्रिय एकता जरुरी : नेपाली काँग्रेस



प्रकाशित मिति : Jun 13, 2020

काठमाडौं, ३१ जेठ । नेपाली काँगे्रसले संविधान संशोधनमा देखिएको सहमतिलाई राष्ट्रियताको पक्षमा राष्ट्रिय एकता ऐतिहासिक भएको बताएको छ । भूमि फिर्ता दोस्रो चरणको अभियानमा अब गम्भीर कुटनीतिक पहलको अपेक्षा समेत काँग्रेसले गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ती जारी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू—भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण भएको बताउनुभएको छ ।

यस अवसरमा नेपाली काँंग्रेसले स्वदेश र बिदेशमा रहेका सबै नेपाली दिदिबहिनी दाजुभाइमा बधाई ज्ञापन समेत गरेको छ ।
नक्सा पारित हुनुसंगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश गरेको पनि उल्लेख गरेको छ ।

राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय एक्यवद्धता पछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्वाध ढंगले स्थापित गर्न सरकारले यो राष्ट्रिय एकतालाई परिपक्व ढंगले उपयोग गर्न जरुरी रहेको र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपने पनि काँग्रेसको भनाइ छ । उच्च स्तरीय कुटनीतिक पहल प्रभावकारी र परिणाममुखी ढंगले गर्न पनि नेपाली कांँग्रेसले सरकारलाई आग्रह गरेको छ ।

विज्ञप्तीमा भनिएको छ ‘ जब—जब राष्ट्रियताको प्रश्न आउँछ या कुनै पनि राष्ट्रिय महत्वको बिषय आउँछ नेपाली कांँग्रेस संयमतापूर्वक सदैव संस्थागत निर्णय एवं सुस्पष्ट विचारका साथ दृढ ढंगले उभिंदै आएको छ र आगामी दिनमा पनि त्यसरी नै उभिने छ । ’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com