‘फिल्मी शैली’ मा एक लाख ५० हजार लुटपाट गर्ने दुई प्रहरी नियन्त्रणमा



प्रकाशित मिति : Jun 13, 2020
  • राजु पौडेल

झापा, जेठ ३१ । अपरिचित ब्यक्तिलाई झट् विश्वास गर्दा धेरैका जीवन नै बर्बाद भएका घटनाहरु समय–समयमा बाहिर आइरहेको हुन्छ । झापाको बिर्तामोडमा पनि यस्तै प्रकृतिको घटना सार्वजानिक भएको छ ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेको छ । लकडाउन भएपनि बैंक तथा वित्तिय संस्थाहरु खुल्ला रहेका छन् । यसैक्रममा जेठ २८ गते अर्जुनधारा–४ का ३६ वर्षीय अनुप भन्ने आइत सुब्बा पैसा निकाल्न बैंक आए । उनले आफूले निकालेको पैसा यति सजिलै अर्कैले चोरर लैजान्छ भन्ने कल्पना समेत गरेका थिएनन् । तर, उनलाई केहि ब्यक्तिहरुले निगरानी गरिरहेका रहेछन् ।

उनी २८ गते घरबाट साइकलमा बिर्तामोडस्थित ग्लोबल बैंक आए, त्यस पश्चात उनले बैंकबाट नगद दुई लाख १२ हजार चार सय १८ रुपैंया पैसा निकाले र ब्यागमा राखे । त्यस लगत्तै घर हिडेका आइतलाई नजिकै रहेका एक अपरीचित ब्यक्तिले आफू पनि घर हिँडेको र संगै जान प्रस्ताव गरे । उनको प्रस्तावलाई सहजै स्वीकार गर्दै आइतले साइकलमा पछाडि राखेर घर तर्फ लाग्छन् । गर्मी मौसम भएकाले ती ब्यक्तिले चिसो पेय पदार्थ खान आग्रह गरे । लगत्तै दुवै जान चिसो खाने भन्दै गर्दा आइतकै मोबाइलबाट उनले साथीलाई चिसो ल्याउन भने ।

ती ब्यक्तिको आग्रह लगत्तै अर्का अपरीचित ब्यक्ति मोरटसाइकलमा आइ पुगे । उनले चिसो नजिकै रहेको र मोटरसाइकलमा ल्याउ प्रस्ताव गरे । दुवै जान मोटरसाइकलमा चढेर चिसो लिन गएपछि आइतले शंका लागेर ब्याग चेक गर्दा ब्यागमा रहेको एक लाख ५० हजार रुपैंया नगद चोर लगेको पत्ता पाए । लगत्तै उनी इलाका प्रहरी कार्यालय अनारमनी पुगे । सबै घटना क्रम बताएपछि प्रहरीले चोरको खोजी सुरु ग¥र्यो ।

बैंकको सीसी टिभी फुटेजको आधारमा प्रहरीले शंकास्द स्थानमा निगरानी बढाएसंगै लुटपाटमा संलग्न झापाको अर्जुनधारा–११ का २४ वर्षीय मन्त चेम्जोङलाई बिर्तामोड–६ स्थित बुट्टाबारीमा मोटरसाइकलसहित नियन्त्रणमा लिएका छन् । त्यस लगत्तै बिर्तामोड–१० तेलकानीबाट अर्जुनधारा–११ कै ३१ वर्षीय मनकुमार बुढाथोकीलाई नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । उनले भने “फिल्मी शैलीमा लुटपाट भएको छ ।” अपरीचित ब्यक्तिलाई झट् विश्वास नगर्न डीएसपी रिजालले आग्रह गरे ।

लुटपाटमा संलग्न दुई ब्यक्तिबाट मे ४ प ३२५ नम्बरको कालो रंगको मोटरसाइकल, नगद ९० हजार रुपैंया, आइतको मोबाइल तथा सिम समेत बरामद गरेको डीएसपी रिजालले बताए । पछिल्लो समय विभिन्न बहाना बनाए लुटपाट गर्नेहरु बढ्न सक्ने भन्दै प्रहरीले सचेत रहन आग्रह गरेका छन् ।

बिर्तामोडमा जडान गरिएको सीसी टिभीका कारण लुटपाट संलग्नको पहिचान गर्न सफल भएको र प्रहरीको सक्रियताका कारण लुटपाटमा संलग्नलाई छोटो समयमा नै नियन्त्रणमा लिन सफल भएको डीएसपी रिजालले जानकारी दिए । नियन्त्रणमा लिएका दुवै जनाको बारे अनुसन्धान जारी रहेको र उनीहरु यसअघि पनि विभिन्न घटनामा संलग्न भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com