३१ जेष्ठ २०७७, शनिबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), ३१ जेठ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । घरभाडा, विजुली महसुल, बैंक ब्याज, स्कुल फी मिनाहा गर्न माग गर्दै संघीय सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीहरुलाई रोक्न खोज्दा प्रहरी र विद्यार्थीबीच झडप भएको छ ।

सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले भनिरहेको बेला वीरगन्जमा बेलाबखत विभिन्न मागसहित विरोध प्रदर्शन भइरहेकाले शनिबार पनि नेविसंघले गरेको विरोध प्रदर्शनलाई रोक्न खोज्दा प्रहरी र विद्यार्थीबीच झडप भएको हो ।

झडपको क्रममा प्रहरीले लाठी चार्ज समेत गरेको छ, जहाँ ६ जना विद्यार्थी नेतालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको छ ।

प्रहरी नियन्त्रणमा पर्नेहरुमा विद्यार्थी नेताहरु नेविसंघ इकाई सभापति मनोज साह, विकास तिवारी, शेष हजरा, रमेश यादव, अभय कर्ण, नेविसंघ नेता श्याम गुप्तासहित ६ जना रहेका छन् ।

घरभाडा, विजुली महसुल, बैंक ब्याज, स्कुल फी मिनाहा गर्न माग गर्दै आन्दोलनमा उत्रिएका नेविसंघका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गरेपछि विवाद उत्पन्न भई विद्यार्थी नेता र प्रहरीबीच झडप भएको थियो ।

तीन महिनाको लकडाउनको कारण दैनिक जनजीवन अस्तव्यस्त बनेको अवस्थामा सर्वसाधारणलाई घरभाडा, बिजुली महसुल, बैंक ब्याज तथा स्कुल फी तिर्न ताकेदा भइरहेको गुनासोहरु उठ्न थालेपछि नेविसंघका विद्यार्थी नेताहरु उक्त माग राख्दै संघीय सरकारविरुद्ध विरोध प्रदर्शनमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV