३१ जेष्ठ २०७७, शनिबार

काठमाडौं, ३१ जेठ । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वीरगञ्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालक र वीगरगञ्ज घण्टाघरमा फेला परेको बेवारिसे शवमा संक्रमण देखिएसँगै संख्या १८ पुगेको हो ।

नारायणी अस्थायी कोभिड अस्पतालमा भएको परीक्षणमा बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो । बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परीक्षण गरिएको थियो ।

बालकलाई उनका आमाबुबाले अस्पताल लिएर आएका थिए । निजगढको सामुदायिक अस्पतालबाट ती बालकलाई वीरगन्ज रिफर गरिएको थियो ।

यस्तै, बुधबार वीरगञ्जको घन्टाघर नजिकै बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV