३१ जेष्ठ २०७७, शनिबार
  • तारा आचार्य

विराटनगर, ३१ जेठ । कोरोना संक्रमितहरुको संख्या दिनहुँ थपिरहेको अवस्थामा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताउनु भएको छ ।

उहाँले प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारीरुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने बताउनु भयो ।

प्रदेश १ का नेकपाका जिल्ला कमिटीका अध्यक्ष र सचिवसँग भएको अनलाइन संवादमा मन्त्री घिमिरेले कोरोना संक्रमण देखिएका उदयपुरको भुल्के, धनकुटा जिल्ला अस्पताल, दमक नगरपालिकामा संक्रमण नियन्त्रणमा आईसकेको हुनाले सावधानी अपनाएर बाँकी क्षेत्रलाई पनि संक्रमण हुन नदिने बताउनु भयो ।

उहाँले पछिल्लो समय क्वारेन्टाइनमा रहेकाहरुमा संक्रमण देखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको भन्दै जति कोरोना संक्रमित भेटिएका छन् । सवै बाहिरबाट आएका हुनाले समुदाय स्तरमा कोरोना नफैलिएकाले चाँडै नियन्त्रणमा आउने उहाँको भनाइ छ । स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनहरु अव्यवस्थित हुँदा क्वारेन्टाइन भित्र वढी संक्रमण फैलिएको उहाँले बताउनुभयो ।

उहाँले स्थानीय तहमा भएका अव्यवस्थित क्वारेन्टाइनहरुलाई व्यवस्थित गरिदै लैजान र पार्टी नेताहरुलाई कोरोना नियन्त्रणमा सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

अनलाइनमा संवादमा नेकपा नेताहरुले समुदाय स्तरमा कोरोना नफैलिएको र नियन्त्रण गर्न नसके यसले भोलि भयावह अवस्था आउन सक्ने भएकाले प्रदेश सरकारले बेलैमा क्वारेन्टाइन र अस्पतालको तयारी पूरा गर्नुपर्ने बताएका छन् । सो अनलाइन संवादमा सवै जिल्लाका नेकपा अध्यक्षहरुले क्वारेन्टाइमा रहेकाहरुको पीसीआर टेष्टको रिपोर्ट ढिलो आउने गरेको गुनासो गरेका थिए ।

प्रदेश १ का सवै जिल्लाका अध्यक्ष र सचिवहरुले स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाइनहरु कारागार जस्तो भएकाले व्यवस्थित गर्न माग गरेका छन् । उनिहरुले संक्रमण बढी देखिएका स्थानहरुमा पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV