सरिता गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा खारेज



प्रकाशित मिति : Jun 13, 2020

काठमाडौँ, ३१ जेठ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान दाेस्राे संशोधन विधेयकमाथि दर्ता गराएको ‘संशोधन प्रस्ताव’ सभामुख अग्नि सापकोटाले खारेज गर्नुभएकाे छ ।

शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नुभन्दा पहिला नै सभामुखले सांसद गिरीको उक्त प्रस्ताव खारेज गर्नुभएकाे हाे । पार्टीले निर्देशन दिँदा पनि सांसद गिरीले उक्त प्रस्ताव फिर्ता लिनुभएकाे थिएन ।

शनिबार संसद बैठक सुरू हुनासाथ संशोधन विधेयकमाथि सांसद गिरी उठ्नुभएकाे थियाे । तर सभामुख सापकोटाले उहाँको संशोधन प्रस्तावलाई अस्वीकृत गरेको जानकारी दिनुभयाे ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा रहेका संशोधनका शर्तविपरीत उक्त संशाेधन प्रस्ताव दर्ता रहेकाेले खारेज गरिएकाे जनाइएकाे छ । प्रतिनिधिसभाको विधेयक शाखाबाट प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र महासचिव भरतराज गौतमले उक्त टिप्पणीसहितकाे राय पठाउनुभएकाे थियाे ।

जनता समाजवादी पार्टीले सरकारले प्रस्तुत गर्ने संविधानकाे दाेस्राे संशाेधन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन यसअघि नै दिइसकेकाे छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com