वीरगञ्जमा बेवारिसे भेटिएकाे युवककाे शवमा कोरोना संक्रमण पुष्टि



प्रकाशित मिति : Jun 13, 2020
  • इरफान अली

वीरगञ्ज, ३१ जेठ । वीरगञ्जमा फेला परेको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जकाे घण्टाघर छेउमा केही दिनअगाडि मृत भेटिएका करिब २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएकाे छ ।

नारायणी अस्पतामा राखिएको शवको सनाखत हुन सकेको छैन । शव पोष्टमार्टमपछि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो। वेवारिसे शवमा कोरोना भाइरस पाइएपछि शवको उद्धारमा खटिएका तीन प्रहरीलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

थप ५ जनामा संक्रमण पुष्टि

यसैबीच पर्सामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन वर्षीय बालकसहित पाँच जनामा कोरोना पुष्टि भएको हो। वीरगञ्जको एक होटलको क्वारेन्टाइनमा बस्दै आएका १९ र ३४ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पाइएको छ।

होटलको क्वारेन्टाइनमा बस्दै आएका उनीहरुमा कोरोना संक्रमण देखिएको स्थानीय प्रशासनले जनाएको छ। उनीहरू भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए।

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई शुक्रबार राति नै गण्डक कोभिड अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका संयोजक डा.उदय सिंहले जानकारी दिएका छन्

त्यसैगरी सखुवाप्रसौनी गाउँपालिका २ गुलरिया बस्ने ३० वर्षीया महिला, ३ वर्षका बालक र १५ वर्षका किशोरमा पनि कोरोना पुष्टि भएको छ। उनीहरुलाई गण्डक अस्पतालमै राखेर उपचार सुरु गरिएको छ भने हाल सम्पुर्णकाे स्वास्थ्य अवस्था समान्य रहेकाे नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले बताए।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा निधन भएका ५ वर्षीय बालकमा पनि काेराेना संक्रमण पुष्टि भएको छ । बाराको निजगढका ५ वर्षीय बालकको हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गरिएकोमा पिसिआर रिपोर्ट पोजिटिभ आएको आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com