३१ जेष्ठ २०७७, शनिबार

काठमाडौं, ३१ जेठ । निरन्तर हुँदै आएको प्रदर्शनबाट उठेको १० अर्ब खर्चसम्बन्धी मागको सरकारले सम्बोधन गरेपछि आज काठमाडौंको माइतीघर मण्डलामा आयोजित प्रदर्शन संयमित देखिएको छ ।

सामाजिक सञ्जालमा आवद्ध युवाहरुको स्वतस्फुर्त अभियानबाट एक साता अघिदेखि सुरु भएको प्रदर्शन देशव्यापी बन्दै गर्दा प्रदर्शनका क्रममा उठेको कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्बको हिसाब किताब पारदर्शीरुपमा सार्वजनिक गर्नु पर्ने माग केन्द्रमा थियो । सरकारले आज हिसाबकिताब सार्वजनिक गरेपछि त्यस्को असर प्रदर्शनमा पर्दा प्रदर्शन संयमित देखिएको हो ।

माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरुले हातमा फूल लिएर सरकारलाई लिम्पियाधुरा नेपालको नक्सामा समावेश गरेकोमा धन्यबाद दिदै अब क्वारेन्टाइनको अवस्था सुधार गर्न र पीसीआर परीक्षणको दायरा बढाउन माग गरेका थिए ।

यस अगाडि भएका प्रदर्शनहरु संयमित नभएको भन्दै आलोचना भएपछि आजको प्रदर्शन संयमित देखिनुका साथै सामाजिक दूरीको मान्यतामा पनि ध्यान पुर्याइएको थियो । कोरोना भाइरसको संक्रमण फैल्याउन प्रदर्शनले भूमिका खेल्न सक्ने भन्दै बिभिन्न क्षेत्रबाट समेत आलोचना हुन थालेपछि प्रदर्शनकारीहरुले प्रदर्शनमा ध्यान पु¥याएको प्रष्ट देखिएको थियो ।

आज संविधान संशोधन प्रस्ताव संघीय संसदबाट पारित हुने क्रममा रहेकोले पनि प्रदर्शनमा सहभागीहरुले लिम्पियाधुरा नेपालको नक्सामा समावेश गरेको प्रति आभार गर्दै राष्ट्रियताप्रति सचेत बन्न र सजग रहन पनि सांसदहरुलाई सांकेतिक सुझाव पनि दिएका थिए ।

तस्बीर : महेश्वर केसी/न्यूज २४

प्रतिक्रिया दिनुहोस्
LIVE TV