कोरोना उपचार तथा रोकथाममा साढे ८ अर्ब खर्च भएको सरकारको दाबी (पूरा विवरणसहित)



प्रकाशित मिति : Jun 13, 2020

काठमाडाैँ, ३१ जेठ । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणकाे रोकथाम तथा नियन्त्रण र उपचारलगायत कार्यमा अहिलेसम्म साढे ८ अर्ब खर्च भएकाे विवरण सार्वजनिक गरेकाे छ ।

सरकारले हालै सार्वजनिक गरेकाे खर्च विवरणमा काेराेना राेकथाम तथा उपचारमा ८ अर्ब ३९ कराेड ११ लाख ९९ हजार रकम खर्च भएकाे दाबी गरेकाे हाे । संघ, प्रदेश र स्थानीय तहमा गरी उक्त खर्च भएकाे बताइएकाे छ । कोरोना भाइरस परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ ।

संघमा ६ वटा मन्त्रालयले मात्रै ४ अर्ब १० कराेड खर्च गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत विभिन्न शीर्षकमा कुल १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।

त्यस्तै, रक्षा मन्त्रालयमार्फत २ अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपियाँ खर्च भएको जनाइएको छ । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् ५ करोड २० लाख रुपियाँ खर्च भएको छ भने सहरी विकास मन्त्रालयमा १ करोड ४२ लाख, गृह मन्त्रालयमार्फत २ कराेड ४५ लाख खर्च भएकाे जनाइएकाे छ ।

सातै प्रदेशका सामाजिक विकास मन्त्रालयहरू मार्फत १ अर्ब ३० करोड खर्च भएको जनाइएको छ । प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले सात करोड ७९ लाख ३० हजार, कर्णालीले २३ करोड ९२ लाख ८३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपियाँ खर्च गरेका छन् । सुदूरपश्चिममा सबैभन्दा बढी खर्च देखाइएकाे छ ।

त्यस्तै, मुलुकका सबै स्थानीय तहमार्फत् कुल २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको बताइएकाे छ ।

हेर्नुहाेस् पूरा विवरण-


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com