प्रर्दशनले काेराेना परिक्षण र उपचारमा समेत जटिलता पैदा गरिरहेको छ : मुख्यमन्त्री पोखरेल



प्रकाशित मिति : Jun 13, 2020

काठमाडाैं, ३१ जेठ । कोभिड-१९ नियन्त्रणमा सरकारले खर्च गरेको रकम सार्वजनिक गर्न माग गर्दै युवाहरूले प्रर्दशन सुरु गरेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यसले परिक्षण र उपचारमा समेत जटिलता पैदा गरिरहेको बताउनुभएकाे छ । समाजिक सञ्जाल फेसबुकमाफर्त प्रतिक्रिया दिनुहुँदै उहाँले उक्त कुरा बताउनुभएकाे हाे ।

‘कोरोना महामारीमा अहिलेसम्म भएको खर्चका वारेमा अविश्वास गर्ने र प्रश्न उठाउने पंक्ति फराकिलो देखिँदैछ । यसले परिक्षण र उपचारमा समेत जटिलता पैदा गरिरहेको छ ,’ उहाँले लेख्नु भएकाे छ, ‘हो, खर्च पारदर्शी र विधिसम्मत हुनुपर्दछ । त्यसमा कुनै छुट हुन सक्तैन । संकटका समयमा सामान्य अवस्थाको जस्तो प्रकृयामा अल्झने अवस्था पनि छैन । त्यसैले खर्च गर्नेहरु जिम्मेवार बन्ने र वाचडगको भुमिकामा रहेकाहरुले धैर्य गर्ने समय हो यो ।’

उहाँले कोरोना संकटको सापेक्षमा भएको खर्च धेरै नभएको पनि बताएका बताउनुभएकाे छ । ‘अहिले जति खर्च भएको छ त्यो संकटको सापेक्षतामा निकै कम हो । सार्वजनिक भएको हिसाव पनि मोटामोटी अनुमान हो । कोरोना परिक्षण र उपचारमा खर्चहुने समय वल्ल सुरु हुँदैछ । यतिवेला सरकारले अझै ठूलो खरिद गरेर थप तयारी गर्नुपर्ने छ,’ मुख्यमन्त्री पाेखरेले लेख्नुभएकाे छ ।

आन्दोलनकारीले मागेजस्तो एक घर एक पीसीआर परीक्षण गर्ने हो भने खर्च ५०–६० अर्ब लाग्ने पनि उहाँले बताउनुभएकाे छ । ‘अहिले नै खर्च बढी भयो भनेर अविश्वास गर्ने अनि एक घर एक पीसीआर परीक्षण गर्नुपर्छ भन्ने माग नै विरोधाभाषपूर्ण देखिन्छ,’ उहाँले लेख्नुभएकाे छ, ‘एक घर एक पीसीआर परीक्षण गर्दा परीक्षणमा मात्रै न्युनतम ५० देखि ६० अर्ब खर्च लाग्न सक्छ ।’ रातारात त्यो खर्चको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति, र सामर्थ्य राज्यसँग नभएको उनको तर्क छ ।

खर्च राज्यका स्थायी संरचनाबाट हुने र त्यसको वास्तविक खर्च भुक्तानी भएसँगै सरकारी लेखामा देखिने उहाँको स्पष्टोक्ति छ । उपचार र परीक्षणमा संलग्नले पाउनु पर्ने जोखिम भत्ता अझै भुक्तानी नभएको र त्यो भुक्तानी हुँदा अहिलेको खर्च अझै बढ्ने उहाँले जनाउनुभएकाे छ । अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहले खर्चको व्यवस्थापन गरेको स्टाटसमा उल्लेख छ । ‘खर्च बढी भयो भन्दै विरोध गर्ने तथा एक घर एक पीसीआर परीक्षण हुनु पर्ने माग जायज नभएको उनको प्रतिक्रिया छ ।

‘यतिबेला त सचेत पंक्तिले तथ्यको जगमा उभिएर विश्लेषण गर्न सक्नु पर्दछ । हामीभन्दा शक्तिशाली देशहरुले हामीले चाहेजस्तो मात्रै होइन हामीले गरेजस्तो पनि गर्न किन सकिरहेका छैनन् ?’ उहाँले लेख्नुभएकाे छ, ‘नचाहेर वा गैरजिम्मेवार भएर त होइन होला, त्यसैले यो समय कसैलाई देखाइदिने र लकडाउनको उकुसमुकुसमा रमाइलो गर्ने समय होइन ।’

यो समय सबै जिम्मेवार भएर कोरोनाविरुद्ध मिलेर संघर्ष गर्ने समय रहेको उहाँले बताउनुभएकाे छ । ‘यो समय सबै जिम्मेवार भएर कोरोना विरुद्ध मिलेर संघर्ष गर्ने समय हो । कोरोनाको सबैभन्दा ठूलाे उपचार रोग लाग्न नदिनु नै हो । जसले वाहिरी मानिससंगको भेटघाटमा एक मिटरभन्दा वढीको दुरी निरन्तर कायम गर्नसक्छ उ सुरक्षित हुन्छ । घर वाहिर जानुपर्दा मास्क अनिवार्य लगाउने, सार्वजनिक ठाउँमा हातले नछुने, छुनुपरेमा सेनिटाइजर गर्नु वा सावुनपानीले मिचिमिचि हातधुनु आवश्यक छ,’ उहाँले लेख्नु भएकाे छ ।

शुक्रबार बुटवलमा कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको १० अर्बको हिसाब खोज्दै हजारौं सडकमा उत्रिएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com