युभेन्टस कोप्पा इटालियाको फाइनलमा, रोनाल्डो पेनाल्टीमा चुके



प्रकाशित मिति : Jun 13, 2020

एजेन्सी, ३१ जेठ । इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा कोप्पा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस फाइनलमा प्रवेश गरेको हो ।

कोरोनाका कारण फुटबल ठप्प हुनुअघि युभेन्टसले मिलानसँग उसकै घरमा १-१ को बराबरी खेलेको थियो । सोही खेलको १ अवे गोल युभेन्टसलाई फाइनल लैजान निर्णायक बन्यो ।

युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालामा दर्शकबिना नै भएकाे खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो । आन्द्रीए कोन्टिले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । तर रोनाल्डोले पेनाल्टीमा गोल गर्न भने सकेनन् ।

त्यसपछि लगत्तै खेलको १८औं मिनेटमा पाहुना टोली मिलान १० खेलाडीमा सीमित भयो । एन्टे रेबिकले युभेन्टसका डिफेन्डर ड्यानिलोमाथि गम्भीर फउल गरेपछि रेफ्रीले रेबिकलाई सोझै रातो कार्ड दिएपछि मिलान १० खेलाडीमा झरेको थियो । तर, त्यसपछि युभेन्टसले मिलान १० खेलाडीमा हुनुको फाइदा लिन सकेन ।

पहिलाे हाफ गाेलरहित बराबरी खेलेकाे युभेन्टसले दोस्रो हाफमा ५ जनै खेलाडी परिवर्तन गरेर खेले पनि गोल गर्न सकेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा केही बढी मौका बनाए पनि गाेल गर्न भने सकेन ।

८० औं मिनेटमा पाउलो डिबालाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक डोनारुम्माले उत्कृष्ट ढंगले बचाए । लगत्तै कर्नरमा युभेन्टसले फाइदा उठाउन सकेन । इन्ज्युरी समयको चौथो मिनेटमा एलेक्स सान्ड्रोको प्रहार डोनारुम्माले बचाएपनि मिलानको यात्रा सेमिफाइनलमा सिमित भयो ।

युभेन्टसले अब उपाधिका लागि इन्टर मिलान र नेपोलीबीच दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । पहिलो लेगमा नेपोलीले इन्टरमाथि १-० को जित दर्ता गरेको थियो । दोस्रो लेग नेपोलीको मैदानमा शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com