३० जेष्ठ २०७७, शुक्रबार
  • शरद / केदार

चितवन, ३० जेठ । चितवनको रत्ननगरमा रहेको सामुदायीक रेडियो चितवनको प्रसारण २०७५ सालको जेठ महिनादेखि बन्द रहेको छ । लगानीकर्ताको मनमुटाबले गर्दा बन्द भएको उक्त सामुदायीक रेडियोले लोक कल्याणकारी प्रसारणको बिज्ञापन भने अझै लिने गरेको छ ।

९४ दशमलब ६ मेगार्हजमा प्रसारण हुदै आएको रेडियो बन्द भएको दुई बर्ष बित्यो तर पनि उक्त रेडियोले सरकारलाई आँफुहरु नियमित सञ्चालनमा रहेकोे भन्दै विज्ञापन वापतको रकम लिने गरेको पाईएको हो । रेडियोले आर्थिक बर्ष २०७५/०७६ सालमा पाउने बिज्ञापन पाईसकेको र यसै आर्थिक बर्ष २०७६/०७७ को पनि सिफारिस भईसकेको छ ।

अनुगमन गर्ने निकाय जिल्ला हुलाक कार्यलय भएको भएपनि कार्यालयले अनुगमन बिना नाम सिफारीस गरे जस्तो देखिन्छ । रत्ननगरकै टाँडीमा रहेर अन्य रेडियो सञ्चालन गर्र्दै आएका रेडियो सञ्चालकहरुले हुलाकले अनुगमन गरेको भए बिज्ञापनको सिफारिसमा नपर्ने बताउछन् ।

हुलाक कार्यलयमा रेडियो सञ्चालकले हाम्रो रेडियो सञ्चालनमा छ भनेकै भरमा सिफारिस गर्दा रेडियो सरकारलाई छल्न सफल भएको अन्य रेडियो सञ्चालक बताउछन् । यता अनुगमन गर्ने निकाय जिल्ला हुलाक कार्यलय चितवनकी कार्यलय प्रमुख नन्दा पौडेलले भने आँफुले रेडियो अनलाईनमा बजेको सुनेको आधारमा सिफारिस गरेको बताउनु भयो ।

उहाँले जिल्ला प्रशासन कार्यलय र पत्रकार महासंघ चितवन शाखाबाटनै सिफारिस भएको आधारमा नाम पठाएको प्रष्ट पार्नुभयो । उहाँले उक्त रेडियो पहिलेनै सूचिकृत भएर आएकोले पनि आँफुहरुले सिफारिस गरेको बताउनुभयो ।

गत बर्ष कसरी सिफारिस भयो आँफुलाई थाहा नभएको तर यो बर्ष प्रशासन र पत्रकार महासंघको रोहबरमा सिफारिस गरेको उहाँको भनाइ छ । उता रेडियो चितवनका सञ्चालकहरुले रेडियो अनलाइनबाट सञ्चालन गरेको बताएका छन् ।

यता सरकारले अनलाइन माध्यबाट नभइ बिज्ञापनहरु रेडियोमै बजाउनु पर्ने मापदण्ड बनाएको छ । रेडियोले अनलाइन माध्यमबाट उज्यालो रेडियो नेटर्र्वकका कार्यक्रम, समाचार र गीत संगीत बजाउँदै आएको छ । रेडियो आँफूले कुनै किसिमको कार्यक्रम र समाचार उत्पादन तथा प्रसारण गर्न सकेको छैन् ।

LIVE TV