तनहुँको व्यास नगरपालिकाको चालू वर्षको १६ करोड बजेट फ्रिज हुने सम्भावना



प्रकाशित मिति : Jun 12, 2020
  • सविन लामिछाने,

तनहुँ, ३० जेठ । तनहुँको व्यास नगरपालिकाको चालू वर्षको १६ करोड बजेट फ्रिज हुने सम्भावना देखिएको छ । शुक्रबार व्यास नगरपालिका र सञ्चारकर्मीबीच भएको छलफलमा उक्त कुराको जानकारी गराइएको हो ।

छलफलमा बोल्दै नगरप्रमुख बैकुण्ठनाथ न्यौपानेले चालू वर्ष २०७५/७६ को कुल बजेटमा १६ करोडको हाहारीमा बजेट फ्रिज हुने बताए । नगरपालिकाको कुल एक अर्ब ४४ करोडमध्ये उक्त रकम फ्रिज हुने भएको हो ।

त्यस्तै छलफलमा बोल्दै नगरप्रमुख न्यौपानेले विगतको भन्दा अबको आर्थिक वर्ष २०७७÷७८ को बजेट घट्ने बताएका छन् । उनले भने, ‘बजेट विगतको भन्दा घट्ने सन्दर्भ रहेको छ । राजश्व पनि यसवर्ष घटेको छ ।’

त्यस्तै यस वर्ष सरकारले कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएको हुनाले नगरपालिकाले पनि कृषि क्षेत्रमा प्राथमिकता दिदै बजेट तयार पारिने उनले बताए । यसैबीच नगरपालिकाले कोरोना परीक्षणका लागि दुई सय वटा किट् खरिद गरेको उनले बताए ।

कोभिड–१९ को नियन्त्रण, उपचार तथा व्यवस्थापन गर्ने क्रममा क्वारेन्टाइनमा रहेका व्यक्तिको पीसीआर परीक्षण गर्दा किट अभाव भएपछि नगरपालिका आफैले किनेको उनले बताए । त्यस्तै तनहुँ जिल्लाका स्थानीय तहको संयुक्त लगानीमा कोरोना भाइरस संक्रमणको पीसीआर विधिबाट परीक्षण गर्ने उपकरण खरिद गर्न लागिएको पनि उनले बताए ।

त्यस्तै हालसम्म व्यास नगरपालिकाका सत्यवतीमा ५० जना, निर्मलमा ४०, आदिकविमा ९६ र मर्दशामा १९ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ । छलफलमा बोल्दै पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आचार्यले लकडाउनको अवस्थामा मिडिया हाउस संकटमा परेका हुनाले राहत उपलब्ध गराउन नगरपालिकालाई अनुरोध गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com