भारतको पश्चिम बंगाल सरकारले प्रवेश नदिदा काँकडभिट्टामा रोकिए कृषिजन्य उत्पादन



प्रकाशित मिति : Jun 12, 2020
  • राजु पौडेल,

झापा, ३० जेठ । भारतको पश्चिम बंगाल सरकारले लकडाउनको कारण देखाउँदै सवारी प्रवेशमा रोक लगाएपछि ठूलो परिमाणमा निर्यात हुने कृषिजन्य वस्तु पूर्वी नाका काँकरभिट्टामा नै रोकिएको छ ।

नेपाल–भारतमा लकडाउन खुकुलो हुँदै गएपनि कृषिजन्य उत्पादन लामो समयदेखि निर्यात नहुँदा कृषक तथा व्यवसायी मर्कामा परेका छन् । पूर्वी नाका काँकडभिट्टाबाट ठूलो परिमाणमा निर्यात हुँदै आएको चिया, अदुवा, अलैँची, अम्लिसो जस्ता पूर्वमा उत्पादन हुने कृषिजन्य उत्पादनको निकासी लकडाउनका कारण लामो समयदेखि ठप्प छ ।

कोरोना भाइरस नियन्त्रणका लागि नेपाल र भारततर्फ लकडाउन भएका कारण झापा, इलाम, पाँचथर, ताप्लेजुङ्गका कृषकका उत्पादन व्यवसायीले पूर्वको काँकडभिट्टा–पानीट्याङ्की नाकाबाट निर्यात गर्न पाएका छैनन् ।

झण्डै अढाई महिनापछि लकडाउन खुकुलो भएपनि कृषिजन्य उत्पादन पूर्वी नाका काँकडभिट्टाबाट निकासी हुन सकेको छैन । लकडाउन खुकु्लो भएपछि भारतको केन्द्र सरकारले नाकामा आयातनिर्यात सहज गर्ने नीति लिएपनि पश्चिम बंगाल सरकारले आफ्नो नाका हुँदै हुने सवारी प्रवेशमा रोक लगाएको मेची भन्सार कार्यालयले जनाएको छ ।

‘भारतबाटै वान वे (एकतर्फी) बनाएको छ’ मेची भन्सार कार्यालयका भन्सार अधिकृत प्रकाश सुवेदीले भन्नुभयो, ‘चिया, अदुवा मात्रै होइन कुनैपनि सामग्री निकासी भएको छैन ।’

पूर्वमा उत्पादन हुने कृषिजन्य वस्तुको मुख्य बजार भारत हो । पठाउनुअघि चिया, अलैँचीजस्ता नेपाली उत्पादन कलकत्तामा ल्याब परीक्षण हुन्छ । लकडाउनका कारण ती गोदाममै थन्किएका र बर्खा सुरु हुने भएकाले यस्ता वस्तु निर्यात गर्न अहिले व्यवसायी हतारिएका छन् ।

भारतबाट खाद्यान्न, निर्माण सामग्री, तरकारीलगायत वस्तु लिएर आएका ढुवानी साधनमा यताका उत्पादन लैजानुपर्ने माग व्यवसायीको छ । ‘अलैंचीको नयाँ उत्पादन हुन लागेको छ, स्टक माल पनि निकासी गर्न सकिरहेका छैनौँ’ अलैंची व्यवसायी तथा चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओम विमलीले भन्नुभयो, ‘लकडाउनले व्यवसायी पूरै समस्यामा छन्, यो बेला सरकारले पनि सहयोग गर्नुप¥यो ।’

लकडाउनअघि नेपालबाट अन्तिम पटक गत चैत ९ गते कृषिजन्य उत्पादन निर्यात भएको थियो । लामो समयदेखिको लकडाउनले यो सिजनमा कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न पाएका छैनन् ।

निकासी नभएकै कारण नेपाली उत्पादन थन्क्याएर बैंकमा चर्को ब्याज तिर्नुपर्दा व्यवसाय डुब्ने खतरा बढेको भन्दै व्यवसायीले सरकारसँग सहयोगको माग गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com