३० जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, ३० जेठ । सरकारले हिजाे बिहीबार सूचना जारी गरेर सडक आन्दोलन नगर्न चेतावनी दिए पनि आज पुनः भक्तपुरको सल्लाघारीमा सरकार विरोधी प्रदर्शन गरिएको छ ।

सामाजिक सञ्जालमा आवद्ध युवाहरुको समूहले बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा गरेको प्रदर्शन पछि गृह मन्त्रालयले एक सूचना जारी गरी लकडाउनको उल्लंघन गरेर सडकमा प्रदर्शन गर्नेलाई कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको थियो । तर गृहको सूचनाको पर्वाह नगरी आज पनि भक्तपुरको सल्लाघारीमा स्वतस्फुर्तरुपमा भेला भएका युवाहरुको समूहले प्रदर्शनलाई निरन्तरत राखेका छन् ।

‘पीसीआर टेष्टको दायरा बढाउनु पर्ने , प्रभावहिन बनेको आरडीटी परीक्षण रोक्नु पर्ने , मृत्युशैया तुल्य र भाइरसको संक्रमण फैलावटको कारक बनेको क्वारेन्टाइनको सुधार गर्नु पर्ने , मेडिकल क्षमताको विस्तार गर्नुपर्ने , अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षा र स्वाभिमानको सुनिश्चिता गर्नुपर्ने , कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्ब खर्चको पारदर्शिता सार्वजनिक गर्नु पर्नेलगायतका माग राखेर गत सातादेखि काठमाडौं उपत्यकाको बिभिन्न भागमा यो समूहले प्रदर्शन गर्दै आएको छ ।

दिनानुदिन प्रदर्शनमा स्वतस्फुर्तरुपमा युवाहरुको सहभागित थपिदो छ भने प्रदर्शन देशव्यापी समेत बन्न पुगेको छ । हिजो बिहीबार नै यही प्रकृतिको विरोध कार्यक्रम विराटनगर , पोखरा ,जनकपुर ,बीरगञ्जलगायतका ठाउँमा समेत आयोजना भएका थिए ।

आज भक्तपुरको सल्लाघारीमा पनि शान्तिपूर्णरुपमा प्रदर्शन जारी छ । जस्लाई उनीहरुले ‘सत्याग्रह कार्यक्रम’ नाम दिएका छन् । हिजो बालुवाटारमा प्रहरीले हस्तक्षेप गरेर पानीको फोहरा प्रयोग गरी प्रदर्शन तितरवितर पारेको थियो भने केहीलाई नियन्त्रणमा समेत लिएको थियो ।

तस्बीर : महेश्वर केसी / न्यूज २४

LIVE TV