२९ जेष्ठ २०७७, बिहीबार
  • सुरेश श्रेष्ठ,

दाङ, २९ जेठ । सरकारले हरेक वर्ष किसानहरुको माग अनुसार रासायनिक मलको अभाव हुन नदिने भन्ने गरेको छ । तर, ठीक उल्टो किसानहरुले खेतिपातीको समयमा आवश्यकता अनुसारको रासायनिक मल पाउन सकिरहेका छैनन् ।

यो वर्ष पनि धान रोप्ने समय सुरु भइसकेको छ । लगातारको लकडाउनका कारण अनुदानको मल आयात गर्न नसकेका किसानहरु मल नपाएर चिन्तित बनेका छन् । माग अनुसारको आपूर्ति नहुने र टेण्डर प्रक्रिया ढिलो हुनेलगायतका कारण समयमै मल उपलब्ध हुन नसकेको जानकारहरु बताउँछन् ।

खेतिपातीको लागि रासायनिक मलको आवश्यकता हुन्छ भन्ने कुरा सरकारले थाहा हुँदा हुँदै पनि वर्षेनी देखिने मल अभावको समस्या समाधान गर्न दीर्घकालीन उपाय खोजी गर्न सकेको छैन ।

त्यसोत, मल पाइएन भन्दै किसानहरुले हरेक वर्ष आन्दोलन र प्रदर्शन पनि गर्दै आएका छन् । किसानको दबाब बढेपछि मात्र सरकारी संयन्त्र तात्न थाल्ने पूरानो प्रवृत्ति कायमै छ ।

माग अनुसारको मल आपूर्ति बढ्न सकेको छैन । अहिले कतिपय ठाउँमा मकैका लागि प्रयोग गर्नुपर्ने डीएपी मल पाइएको छैन । धान रोप्ने बेलामा डीएपी र धान हुर्कंदै गर्दा युरिया मल आवश्यक पर्छ ।

युरियाले बिरुवा बढाउन र पात हरियो बनाउन मद्दत गर्छ । त्यस्तै रोप्ने बेलामा डीएपी मल हाल्दा दाना लाग्नमा मद्दत पुग्छ । मलको अभावमा बिरुवा राम्ररी हुर्कन सक्दैन । जसले गर्दा उत्पादन कम हुन जान्छ ।

कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तिर्थ न्यौपानेका अनुसार माग अनुसारको मल आपूर्ति गर्न नसकिएको बताउनुभयो । युरिया आउने सम्भावना न्यून रहेपनि डीएपी भने एक साताभित्र आवश्यकता अनुसार आपूर्ति हुने न्यौपानेले बताउनुभयो ।

दाङमा ८ हजार मेट्रिक टन डीएपी र १२ हजार मेट्रिक टन युरियाको माग हुने गरेको छ । हालसम्म दाङमा ७ हजार २ सय ८८ मेट्रिक टन युरिया र ६ हजार ८० डीएपी आपूर्ति भइसकेको कृषि सामग्री संस्थान कम्पनीले जनाएको छ ।

तुलसीपुरमा २८ सय मेट्रिक टन युरिया र २५ सय ५० मेट्रिक टन डीएपी, घोराहीमा ३ हजार मेट्रिक टन युरिया र २५ सय मेट्रिक टन डीएपी, लमहीमा १४ सय ८८ मेट्रिक टन युरीया र १ हजार ३० मेट्रिक टन डीएपी आवश्यक पर्छ ।

दाङमा कम्तिमा २ सय वटा सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कम्पनी लिमिटेडबाट रासायनिक मलको आपूर्ति गर्ने र किसानहरुलाई विक्री वितरण हुँदै आएको छ । तुलसीपुरमा ८६ वटा, घोराहीमा ८० वटा र लमही क्षेत्रमा ३४ वटा सहकारीले रासायनिक मल बिक्री वितरण गर्दै आएका छन् ।

मुलुकभर वार्षिक सात लाख मेट्रिक टन भन्दा बढी मलको माग हुने गरेको छ । तर तीनदेखि साढे तीन लाख मेट्रिक टन मात्रै मल आपूर्ति हुँदै आएको छ । अधिकांश मल भारतबाट ल्याउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV