२९ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, २९ जेठ । सरकारले नेपाल–भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ । गत जेठ २२ गते बसेको मन्त्रिपरिषदको बैठकले नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन गरेको हो ।

टोलीमा अन्तर्राष्ट्रिय कानूनविद् सूर्यप्रसाद सुवेदी, इतिहासविद् रमेश ढुंगेल, कानूनविद् विपिन अधिकारी, जलविज्ञानविद् जगत भुसाल, नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बराल, मेजर जनरल अवकाश प्राप्त हिमालय थापा, महिला प्रतिनिधिबाट अप्सरा चापागाई, परराष्ट्रमन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी छन् ।

यो समूहले सार्वजनिक निकाय लगायत विभिन्न संघ संस्था, व्यक्ति र स्वदेशी तथा विदेशी पुस्तकालय, अभिलेखालय एवं संग्रहालयबाट नेपाल भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर पश्चिम क्षेत्र लिम्पियाधुरा, कुटी, नावी, कालापानी र लिपुलेक क्षेत्रमा नेपालको स्वामित्व स्थापित हुने कागजात संकलन गर्नुपर्ने कार्यादेश छ ।

जसमा दुईदेशबीचको सन्धि, सम्झौता संकलन गर्नुपर्नेछ । यस्तै, इष्ट इण्डिया कम्पनी, ब्रिटिस सरकार र भारतसँग भएका पत्राचारको पत्र पनि संकलन गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV