२९ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, २९ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको कुटनीतिक सम्बन्धहरु छिमेकी मुलुकहरुसँग समदूरीको नै रहने बताउनुभएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका काम कारवाही र हालसालै नेपाल सरकारले जारी गरेको नेपालको नक्सा सम्बन्धमा आयोजना गरेको बैठकमा बोल्दै मन्त्री अर्यालले सबै छिमेकीसँग समान सम्बन्ध रहने र कसैलाई पाखा र कसैलाई पाखाको व्यवहार नगरिने बताउनु भयो ।

‘हाम्रा कुटनीतिक सम्बन्धहरु हाम्रा छिमेकीहरुसँग समदूरीको नै रहन्छ । कसैसँग काखाको कसैसँग पाखाको हुदैन’, मन्त्री अर्यालले भन्नुभयो, ‘जो सीमासँग जोडिएका विषयहरु हुन्छन् । उत्तरदक्षिण दुवैतिर सरकारले समान ढंगले नै हेर्छ ।’

अहिले भारततर्फको सीमा समस्या ज्वलन्त बनेर आएकाले दक्षिणतर्फ सरकार लागेको मन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज जसरी दक्षिणतर्फको समस्या ज्वलन्त बनेर आएको छ त्यही रुपमा उत्तरतर्फ प्रकट भएको छैन । प्रकट हुँदाको दिनमा जसरी हामीले अहिले दक्षिणतर्फ लागेका छौ । उत्तरतर्फ पनि त्यसरी नै लाग्नुपर्छ ।’

उत्तरतर्फ सीमा नै यकिन गरेको ठाउँमा ३ वटा पिलर गाड्न बाँकी रहेको भन्दै उहाँले अरु ठाउँमा त्यस्तो समस्या नदेखिएको बताउनुभयो । अत्यन्त पेचिलो बनेको सुस्ता र कालापानी क्षेत्र भएको भन्दै मन्त्री अर्यालले यी विषयहरु टुंगिएपछि अरु ठाउँका समस्याहरु पनि सरकारले समाधान गर्ने बताउनुभयो ।

सरकारले लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ नक्सा जारी गरेको सन्दर्भमा केहीले आशंका पनि गरेको भन्दै मन्त्री अर्यालले जमिन ल्याउ नक्सा ठूलो कुरा होइन भन्नु आफ्नै कमजोरी लुकाउनु भएको बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, ‘जमिन ल्याउ नक्सा जारी गर्ने कुरा ठूलो कुरा होइन भनेर भन्नु विगतको आफ्नो कमजोरी लुकाउनु नै हो । ठूलो होइन भने किन आयो ? ठूलै भएर नै आएको होला नी !’

सरकारले नक्सा जारी गरेसँगै अब भूमि फिर्ता ल्याउनुपर्ने अवस्था रहेको भन्दै मन्त्री अर्यालले भारतसँग वार्ताद्वारा नै यो समस्याको समाधान गरिने बताउनुभयो । सबै तथ्य प्रमाणहरु नेपालको पक्षमा रहेको भन्दै उहाँले वार्तामा बसिरहदा नेपालका विपक्षमा आउनसक्ने विषयहरुको नेगेटिभ लिस्ट बनाएर त्यसलाई काट्ने दस्ताबेजहरुको तयारी पनि गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

अब वार्ताका निम्ति सबै एकजुट भएर तयारीमा जुट्नुपर्ने बेला आएको उहाँको भनाइ थियो । ‘सरकारले शुरुआत गर्यो, प्रकृया अगाडि बढ्यो यो राम्रो कुरा हो । अब जमिन फिर्ताका निम्ति सबै एकताबद्ध भएको अवस्था छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘सबै एकजुट भएर जाँदाखेरी हाम्रो भूमि फिर्ता गराउन सम्भव छ । त्यसरी नै अगाडि बढ्नुपर्छ र भारतले नेपालको भूमि फिर्ता गर्नै पर्छ ।’

विगतका शासकहरु चुकेको त्यस्तो कुनै प्रमाण नभएको मन्त्री अर्यालले बताउनुभयो । ‘अहिलेसम्म खोजी र अनुसन्धान गर्दा लिखित रुपमा हाम्रा पूर्व शासकहरु चुकेको प्रमाण हामीले भेटाएका छैनौ’, उहाँले भन्नुभयो ।

LIVE TV