२९ जेष्ठ २०७७, बिहीबार
  • शीतल भट्ट

बेलौरी, २९ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएपछि नगर प्रमुख पोतिलाल चौधरीद्वारा क्वारेन्टाइनको अवलोकन गरिएको छ ।

बुधबार नगरपालिकाको वडा नम्बर ५ का २२ वर्षीय युवकमा कोरोनाभाइरस (कोभिड-१९) पुष्टि भएकाे थियाे । त्यसपछि उक्त वडाको जननमुना मावि भवनमा बनाइएकाे क्वारेन्टाइनको अवस्था अवलोकन गरिएको हो । साथै अन्य क्वारेन्टाइनकाे अवस्थाबारे समेत अवलोकन गरिने नगर प्रमुख चाैधरीले बताए ।

अवलोकनका क्रममा नगर प्रमुख चौधरीले सामाजिक दुरी कायम गरी बस्नुका साथै सजगता र सचेतता अपनाउन क्वारेन्टाइनमा बसेकाहरुलाई विशेष अनुरोध गरे । उनले क्वारेन्टाइनमा केही समस्या देखिए खबर गर्न समेत आग्रह गरेका छन् ।

यस्तै, वडाध्यक्ष साइतु कुमार चौधरीले यतिबेला विश्व नै कोरोनाको त्रासमा बाँचिरहेको बताउँदै प्रत्येकले सहनशीलता अपनाई जिम्मेवार नागरिकको भूमिका निभाउन आग्रह गरे ।

बुधबार बेलौरीका एक जनामा काेराेना पुष्टि भएसँगै हाल कञ्चनपुरमा काेराेना संक्रमितको सङ्ख्या ३३ पुुगेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका काेभिड-१९ फाेकल पर्सन सिद्धराज भट्टले जानकारी दिए । जसमध्ये एक जना कोरोना जितेर घर फर्किसकेका छन् ।

LIVE TV