२९ जेष्ठ २०७७, बिहीबार
  • मनिराज पाण्डे

कालिकोट, २९ जेठ । नरहरिनाथ गाउँपालिका- १, कर्णाली नदीको तिरमा पर्ने लालीघाटमा बुधबार बिहान साढे १० बजे भएकाे टिपर दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ३ पुगेकाे छ । टिपरमा सवार ३९ जनामध्ये २ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको हाे ।

टिपर दुर्घटनामा घाईते भएका ८ जनामध्ये २ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडाैँ लगिएको थियाे । काठमाडौंकाे किष्ट अस्पतालमा उपचारकारकै क्रममा रास्कोट नगरपालिका- २ की २० वर्षीया निस्पता सार्कीको मृत्यु भएको हाे । वर्ष २८ का मीन सार्कीको भने उपचार भइरहेको छ ।

अन्य घाइतेहरू- वर्ष ३५ का प्रजे सार्की, वर्ष ३५ की अनिता सार्की, वर्ष १८ का विवेक सार्की, वर्ष १४ का अशोक परियार, वर्ष १८ का गोविन्द सार्की र ३ महिने एक बच्चाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

टिपर कर्णाली करिडोर सडकबाट करिब ३० मिटर तल नदीमा खसेको थियाे । घटनास्थलमै मुत्यु हुनेमा रास्को- २ की २३ वर्षीया शर्मिला सार्की र सोही ठाउँकी २१ वर्षीया थुम्की सार्की छन् ।

रास्कोट- २ कै ३१ वर्षीया मन्ना कुमाल र २ वर्षीया बालिका काली सार्की अहिले बेपत्ता छन् । भारतबाट आएका १३ महिला र २६ पुरुषलाई क्वारेन्टाइनमा बसाल्न रास्कोट नगरपालिकाको ना ८ ख ५१३३ नम्बरको टिपरमा लैजाने क्रममा टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको थियाे ।

दुर्घटनामा चालकको लापरवाही देखिएको डिएपी श्यामबाबु ओलियाले बताए । टिपर छाडेर भागेका चालक रास्कोट- ८ का रंगनाथ धमालालाई प्रहरीले सान्नीगाडबाट प’क्राउ गरेको छ ।

दुर्घटनाको यकीन कारण खुलिनसके पनि चालकलाई यात्रुले ठाउँ साँघुरो भयो भनेर कुटेपछि चालकले टिपर छाडिदिएको हुन सक्ने नगर प्रमुख काशीचन्द बरालले बताउनुभयो । कोरोना विरुद्धको लडाईंमा सडक दुर्घटना हुँदा नगरलाई थप समस्या भएको बरालकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV