२९ जेष्ठ २०७७, बिहीबार
  • बाल बिक्रम कार्की

रौतहट, २९ जेठ । रौतहटमा कोरोना संक्रमणलाई जितेर ८१ जना घर फर्किएका छन् । जिल्लाको गरुडा नगरपालिकाको विर्तास्थित प्रहरी विद्यालयको आइसोलेसनमा उपचाररत ६५ र गौर नसिङ्ग इन्टिच्युटमा १६ जना निको भएर घर फर्किएका हुन् ।

योसँगै रौतहटमा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या १ सय २ पुगेको छ । यसअघि जिल्लाको गौर नसिङ्ग इन्टिच्युटबाट १८ जना र बिरगंजको नारायणी अस्पतालबाट ३ जना संक्रमित उपचार पश्चात निको भएर घर फर्किसकेका छन् ।

यसरी निको भएर घर फर्कनेहरुमा अधिकांस इशनाथ, देवाहीगोनाही, कटहरिया, गौर, राजपुर र बौद्धिमाइ नगरपालिका लगायतका स्थानिय रहेका जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन डाक्टर कृष्ण साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार ८१ जनाकै स्वाव परिक्षणको रिर्पोट नेगेटिभ आएको र आइसोलेसनमा बसेको पनि १४ दिनभन्दा बढी भइसकेकाले आइसोलेसनबाट डिस्चार्ज गरेर घर फर्काइएको बताउनुभयो ।

उहाँले उनीहरुलाई आइसोलेसनमा बसुन्जेल स्वास्थ्यमा कुनैपनि समस्या नआएको भन्दै संक्रमितको उच्च मनोवल र आइसोलेसनमा खटिनुभएका स्वास्थ्यकर्मी उचित रेखदेखले संक्रमण मुक्त भएर घर फर्कन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

‘जिल्लाका संक्रमितहरुलाई जिल्लामै राखेर उपचार गर्ने जुन संकल्प हामीले लिएका थियौँ , त्यसमा सफलता हात पार्दै गइरहेका छौँ ’ खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘यसरी कोरोना संक्रमितलाई निको पारेर घर पठाउँदा हामी निकै खुसीभएका छौँ ।’

उहाँले संक्रमितको उपचार र व्यवस्थापनमा निरन्तर खटिनुहुने स्वास्थकर्मी , सुरक्षाकर्मी, जनप्रतिनिधी , स्थानिय प्रशासन लगायत सम्पूर्णमा आभार पनि प्रकट गर्नुभयो । उपचार पश्चात निको भएर घर फर्किएकाहरुले आफुहरुले उच्च मनोवल राखेर कोरोना जितेको प्रतिक्रिया दिनुभयो ।

उहाँहरुले नियमित व्यायम, उच्च मनोवल र स्वास्थकर्मीको सल्लाह तथा उपचारले गर्दा आफुहरुले कोरोनालाई पराजित गरेको बताउनुभयो । कोरोना लाग्दैमा डराउनु तथा आतिनु नहुने उहाँहरुको भनाइ रहेको थियो ।

जिल्लामा अझैपनि ३ सय ७२ जना संक्रमितहरुको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।

LIVE TV