२८ जेष्ठ २०७७, बुधबार

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा देखिएको राष्ट्रिय एकता गर्वको विषय भएको बताउनु भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा विषयमा प्रवेश गर्नुअघि प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै भन्नुभयो ‘राष्ट्रिय समस्या, कोभिड-१९ र अन्य विषयमा संसदको बैठकमा मंगलबार (हिजाे) देखिएको अभूतपूर्व एकता गर्वबाेधको विषय हो ।’

उहाँले यो एकता कायम रहनुपर्ने बताउनुहुँदै नेपालको संसदले सिंगो देशलाई एकताबद्धरुपमा हाँक्न सक्छ भन्ने ठोस उदाहरण पनि पेश गरेको बताउनुभयो । उहाँले दलीय व्यवस्थामा संसदीय प्रणाली अभ्यास भएको चर्चा गर्दै अब हरेक राष्ट्रिय समस्याको चुनौती समाधान गर्न संसदले यही गरिमामय भुमिका खेल्न आवश्यक भएको औँल्याउनुभयो ।

हिजो मंगलबार सरकारले पेश गरेको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित गरेको थियो । भारतीय अतिक्रमणमा परेकाे नेपाली भूमि लिम्पियाधुरा, कालापानीसहितकाे नयाँ नक्सा समावेश निशान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई संसदको बहुमतले स्वीकृत प्रदान गरेको थियो ।

प्रधानमन्त्री ओलीले यही एकता नेपालको लागि अनुपम बन्ने चर्चा गर्दै संसदबाहिर आम जनतामा देखिएको एकताप्रति पनि आभार व्यक्त गर्नुभयो । ‘देशमा सशासन र विकासलाई तीब्र तरिकाले लान सकियोस् । नेपालको आंकक्षालाई पूरा गर्न सकियोस्,’ उहाँले भन्नुभयाे ।

उहाँले यतिबेला सरकारकाे बजेट र नीति तथा कार्यक्रम पनि कोरोना भाइरसबाट प्रभावित रहेकाे बताउनुभयाे । ‘हाम्रो बजेट पनि कोरोन भाइरसबाट प्रभावित छ । यसबाट प्रभावित भएर हामीले न नीति कार्यक्रम बनाउन सक्छौँ, न बजेट बनाउन सक्छौँ । विश्वैको चुनौतिको रुपमा कोरोना भाइरस देखा पर्यो यसले विश्व नै आक्रान्त छ,’ उहाँले भन्नुभयाे, ‘कतिपया आलोचनाका पक्षहरु छन्, सकारात्क रुपमा लिन्छु ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV