२८ जेष्ठ २०७७, बुधबार
  • जनकबहादुर शाही

हुम्ला, २८ जेष्ठ । हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना नागरिकहरुको पीसीआर विधिमार्फत कोरोना भाइरस परीक्षण गर्नका लागि भीटीएम किट खरिद गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयमा भिटिएम र आरडीटी किटको अभाव भएर प्रदेशसँग माग गर्दा प्रदेशले उपलब्ध नगराएपछि सिमकोट गाउँपालिका आफैँले भिटिएम खरिद गरेकाे गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए ।

छिमेकी मुलुक भारत तथा नेपालका विभिन्न जिल्लाबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा राखिएको तर उनीहरुको कोरोना परीक्षण नगरी घर पठाउन नसकिने र पठाए पनि नागरिकहरु पनि जान नमान्ने भएकाले परीक्षण गर्नु रहेकाे रहेकाे उनकाे भनाइ छ । तर परीक्षण गर्न भने भीटीएम र आरडीटी किटको अभाव भएपछि पालिकाले आफ्नै लगानीमा २ हजार थान भीटीएम खरिद गर्नु परेको अध्यक्ष लामाले बताए ।

अहिले पछिल्लो समयमा आरडीटी किटबाट परिक्षण गर्दा प्रभावकारी नहुने भएपछि कोरोनाको प्रभावकारी रुपमा परीक्षण गर्न भीटीएम किट नै विश्वासिलो र प्रभाबकारी हुने सिमकोट गाउपालिका स्वास्थ्य शाखा प्रमुख दानबहादुर बोहोराले बताए । उनले साेही कारण भिटिएम खरिद गर्ने भनेर पालिकाले निर्णय गरेपछि २ हजार थान भिटिएम खरिद गरी गाउँपालिकामा पुगिसकेको जानकारी दिए ।

मंगलबारसम्म स्थलमार्गबाट ८५ र हवाई मार्गबाट २ सय २५ जना गरी ३१० जाना देशका विभिन्न जिल्लाबाट आएर सिमकोट गाउँपालिकाका ९ वटा क्वारेन्टाइनमा बसेका छन् । अझै आउने क्रम जारी रहेकाले जिल्ला बाहिरबाट कति आउने हुन यकीन नभएको स्वास्थ्य शाखा प्रमुख बोहोराले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV