२८ जेष्ठ २०७७, बुधबार
  • शीतल भट्ट

बेलौरी, २८ जेठ । बेलौरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको नजर परेको छ । नगरपालिकाभित्र निर्माण भएका तथा निर्माणाधीन योजनाहरुमा अनियमिता भएकाे उजुरी परेपछि अख्तियारको नजर परेको हो ।

नगरपालिकाको वडा नम्बर ९ डाँडाकुण्डामा सडक ग्राभेल, निर्मल आर्यघाटदेखि चिनीमिल जाने सडक तटबन्ध लगायत विभिन्न योजनाहरुबारे अख्तियारमा उजुरी परेपछि थप अनुसन्धानका लागि टोली मङ्गलबार बेलौरी आएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम दत्त भट्टसँग यस बारेमा जानकारी लिन खोज्दा उनले कतिपय कुराहरु टार्दै मुख खोल्न चाहेनन् । उता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका निमित्त कार्यालय प्रमुख महेश पाण्डेयले उजुरीमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही गरिने बताए ।

तर, यहाँका स्थानीय नगरपालिकाभित्र चरम भ्रष्टाचार मौलाएको बताएका छन् । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि समेत करोडौँ रकम खर्च भइरहँदा उक्त व्यवस्थापन एवम् खरिद प्रकरणमा कर्मचारीको मनोमानी र नीतिगत भ्रष्टाचारको गन्ध आइरहेको बताउँछन् ।

यससँगै, नगरपालिकाभित्र नीतिगत भ्रष्टाचार मौलाएको भन्दै सो विषयमा पनि तत्काल अख्तियारको नजर पर्नुपर्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV