२७ जेष्ठ २०७७, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), २७ जेठ । कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिद प्रक्रियाका लागि वीरगञ्ज महानगरपालिकाले आह्वान गरेको बोलपत्र मंगलबारसम्म पाँच थान विक्री भएको छ ।

वीरगञ्जमा कोरोना संक्रमतिहरुको संख्या बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणको लागि बृहत परीक्षण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै मेसिन खरिदको लागि ५ दिने बोलपत्र प्रकाशन गरेको थियो ।

संघ तथा प्रदेश सरकारबाट मेसिन खरिदको लागि कुनै किसिमको आसा नदेखेपछि वीरगञ्ज महानगरपालिकाले यहाँकै नागरिकहरुको सहयोगमा मेसिन खरिद गर्ने अठोट लिएर सहयोगको लागि आह्वान गरेको थियो । पीसीआर मेसिन तथा किट खरिदका लागि महानगर प्रमुख बिजय कुमार सरावगीले आम नगरवासी, पर्साका स्थानीय सरकार र पर्सावासीलाई आर्थिक सहयोगको लागि अपिल गरेका थिए ।

विभिन्न दाताहरुबाट सहयोग प्राप्त हुन थालेपछि महानगरपालिकाले गत शुक्रबार पीसीआर मेसिन खरिद सम्बन्धी पाँचदिने बोलपत्र प्रकाशन गरेको थियो । पीसीआर मेसिन तथा किट खरिदको मनसाय राखेर पाँचवटा कम्पनीले बोलपत्र खरिद गरेका छन ।

बोलपत्र किन्नेहरुमा स्नीयो इन्टरनेशनल प्रा.लि.काठमामडौं, सगरमाथा बायोमेडिकल इन्जिनियरिंग काठमाडौं, जेएमएस इल्याट्रिक ट्रेडर्स, बायो मेडिकल प्रा.लि.काठमामडौं र अन्सु ट्रेडलिंक वीरगन्ज रहेका छन् ।

सार्वजनिक खरिद ऐनले निर्दिष्ट गरे अनुसार पीसीआर मेसिन खरिद प्रक्रियाबाट अगाडि बढेको वीरगन्ज महानगरपालिकाले जनाएको छ । मंगलवार नै वीरगन्जका उद्योगी ब्यवसायीले पीसीआर मेसिन खरिदका लागि आर्थिक सहयोग समेत गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले ११ लाख ११ हजार १ सय ११ रुपैया, उद्योगपति विरेन्द्र संघाइले २० लाख, बाबुलाल चाचानले १० लाख, अनिल रुँगटाले ५ लाख, राजेश अग्रवालले ६ लाख, आत्मराम काबराले ५ लाख, मुरलीधर रुँगटाले ५ लाख, अशोक बैदले २ लाख, सत्यनारायण क्यालले २ लाख, हिरालाल केडियाले ५ लाख, चीरन्जीवी लाल सरावगीले १ लाख सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV