२७ जेष्ठ २०७७, मंगलवार
  • कृष्ण पाण्डे,

बुटवल, २७ जेठ । रुपन्देहीमा सोमवार राति ५ जनाको बन्चरो प्रहार गरी सामुहिक हत्या भएको विषयमा छानविन गर्न समिति गठन गरिएको छ ।

घटनाको वारमा थप अनुसन्धान गर्न ५ नम्बर प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रवक्ता राजकुमार वैदवारको संयोजकत्वमा दंगा प्रहरी गणका प्रमुख विकास राज खनाल र ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतिक राठौर सदस्य रहेको छानविन समिति गठन गरिएको हो ।

छानविन समितिका संयोजक वैदवारले २४ घण्टा भित्र घटनाको यथार्थता वाहिर ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । हत्यामा संलग्न भएको आशंकामा सोही फर्ममा काम गर्ने सरखेत घर भएका झपेन्द्र सिंजालीलाई नियन्त्रणमा लिइएको छ ।

घटनाबारे सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी काँग्रेसको चासो

यसैबीच हिंसात्मक घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न र पीडितलाई राहात दिन सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले माग गरेका छन ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं। १० कान्छीबजार स्थित मैनहवामा सोमबार राति स्थानीय कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा कार्यरत पाँच जनमा कामदारको विभत्स हत्या भएको घटना प्रति नेपाली काँग्रेसका संघीय सांसद बालकृष्ण खाँणले दुःख ब्यक्त गर्नुभएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहनुभएका सांसद खाँणले विज्ञप्ति जारी गरेर कोरोनाको महामारीबाट देशबासी आक्रान्त भईरहेको अवस्थामा यस प्रकारका आपराधिक घटनाले आम नागरिकमा थप आतंक सृजना भएको उल्लेख गर्नुभएको छ ।

सांसद खाँणले आम नागरिकको सुरक्षाका साथै रुपन्देहीको कान्छीबजारमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीका लागि सम्वन्धित निकायसंग माग गर्नुभएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा तिलोत्तमा नगर कमिटीले तिलोत्तमा नगरपालिका वडा नम्बर १० मंैनहियामा पाँचजना व्यक्तिको ज्यान जानेगरी घएको घटनाले आफ्नो पार्टीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै नेकपाले घटनाको निन्दा गर्दै दोषीउपर कडा कारवाही र पीडित परिवारलाई राहतको माग गरिएको छ ।

नगर अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालद्वारा जारी विज्ञप्तीमा घटनाको यथार्थ छानविन गर्न र यस्ता घटना दोहोरिन नदिन शान्ति सुरक्षाको राम्रो प्रवन्ध गर्न माग गरिएको छ ।

LIVE TV