२७ जेष्ठ २०७७, मंगलवार

काठमाडौं, २७ जेठ । सरकारले कोरोना भाइरसको नियन्त्रण एवं रोकथामको लागि केही गर्न नसकेको निष्कर्ष निकाल्दै सर्वसाधारणले आफ्नो आक्रोश सडकमा पोख्न थालेका छन् ।

मंगलबार स्वतस्फुर्तरुपमा प्रधानमन्त्री निवास वालुवाटार परिसरमा भेला भएका सयौं व्यक्तिहरुले सरकार कोरोना रोकथाममा उदासिन बनेर भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

आरडीटी परीक्षणले गुमाएको विश्वसनीयता र पीसीआर विधिको परीक्षणको दायरा बढाउनु पर्ने माग पनि उनीहरुको थियो । उनीहरुले सरकार मुलुकले गम्भीर अवस्थाको सामना गरिररहदा पनि सरकार भने भ्रष्टाचारमा लिप्त भएको आरोप समेत लगाएका छन् ।

नागरिक समाज, व्यवसायी र बिभिन्न क्षेत्रका व्यक्तिहरुसहित विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता रहेको उक्त प्रदर्शनलाई रोक्न प्रहरीले लाठीचार्जका साथै पानीको फोहरा समेत प्रयोग गर्नु परेको थियो ।

कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र लकडाउनको औचित्य प्रमाणित गर्न पनि उनीहरुले आवाज उठाएका थिए ।

प्रदर्शनमा सहभागी विद्यार्थीसहित अन्य सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथसाथै पानीको फोहोराले आक्रमण गरेको छ । कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको प्रदर्शनमा प्रहरीको आक्रमणबाट केही मानिस घाइते भएका छन् भने केही पक्राउ परेका छन् ।

अर्थहिन लकडाउनको औचित्य नभएको भन्दै उनीहरुले सडकमा नै बसेर नारा समेत लगाएका थिए । प्रहरीले प्रदर्शनबाट केहीलाई नियन्त्रणमा समेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV