२७ जेष्ठ २०७७, मंगलवार
  • केदार शर्मा

चितवन, २७ जेठ । नारायणी सामूदायिक अस्पतालको सघन कक्षमा उपचार गराइरहेका ६८ वर्षीय कोरोना संक्रमित बिरामीलाई भरतपुर अस्पताल लगिएपछि मृत्यु भएको छ ।

सघन कक्षमा उपचार गराइरहेका बिरामीलाई अस्पताल स्थानान्तरण गर्दा सोहि प्रकृतिको अवस्थामा लैजान पर्ने हो, तर अस्पतालले कोरोना देखिएको भरमा अस्पताल स्थानान्तरण गर्दा कुन अवस्थामा सार्यो भन्ने कुरा पनि महत्वपूर्ण हुने एक चिकित्सक बताउछन् । यता अस्पताल श्रोतले भने सामान्य अक्सिजनको भरमा भरतपुर अस्पताल ल्याएको बताएको छ ।

सोमबार (हिजो)मात्रै कोरोना संक्रमण पुष्टि भएका भरतपुर ११ का ६८ वर्षीय पुरुषको आज बिहान ७ बजेर ०५ मिनेट जाँदा मृत्यु भएको भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष भोजराज अधिकारीले जानकारी दिनुभयो ।

बिरामी निमोनीया तथा मुटु रोगबाट ग्रसित थिए । नारायणी सामुदायिक अस्पतालले कोरोना संक्रमितको उपचार सरकारले गर्ने भन्दै सघन कक्षबाट सीधै भरतपुर अस्पताल पठाएको थियो ।

नारायणी सामूदायिक अस्पतालले कोरोनाको बिरामीलाई उपचार गर्ने छुट्टै कक्ष नभएको भन्दै भरतपुर अस्पताल पठाएको बुझिन्छ । अस्पतालले आइसीयु भेण्टिलेटरको सहायतमा उपचार गराइरहेका बिरामीलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले स्थानान्तरण गरेको हो ।

सरकारको नीति अनुसार नै उनलाई स्थानान्तरण गरेको नारायणी सामुदायिकले बताएको छ । यता जिल्ला प्रशासन कार्यलय चितवनका प्रमुख जिल्ला अधिकारीले भने बिना जानकारी स्थानान्तरण गरेको बिषयमा आपत्ति जनाउनुभएकाे छ ।

मृतकको शब भरतपुर अस्पतालको आइसीयुमै रहेको छ । शब व्यवस्थापन कसरी गर्ने भन्ने अन्योलले गर्दा प्याकिङको काम हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV