२६ जेष्ठ २०७७, सोमबार
  • कृष्ण पाण्डे,

तिलोत्तमा, २६ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । कोरोना महामारी नियन्त्रण पूर्वतयारी अन्तर्गत शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।

स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नम्बर २ को कार्यालयमा स्थान्तरण गरी आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

आइसोलेसन सेन्टरमा एक जना चिकित्सक, एक जना नर्ससहितका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलगायतका कर्मचारी खटिएका छन् । बुटवल कोरोना अस्पतालसँगको समन्वयमा कोरोना संक्रमित भएपनि लक्षण नदेखिएकाहरुलाई आइसोलेसनमा राख्न थालिएको छ ।

यहाँ सोमबारसम्म आरडीटी पोजेटिभ देखिएपनि पीसीआरको नतिजा आइनसकेका समेत गरी १४ जनालाई राखिएको आइसोलेशन इञ्चार्ज केशव भट्टराईले बताए । बीस बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उनको भनाइ छ ।

सेन्टरमा आईसीयू र भेन्डिलेटरको सुविधा नचाहिने कोरोनाका संक्रमित तथा सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिनेछ । सेन्टरमा २४ सैं घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको चिकित्सक संजोग पाठकले जानकारी दिनुभयो ।

तिलोत्तमा नगरपालिकाले आइसोलेसनको लागि आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको अन्त्य भइसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकाश गरेर लैजाने गरी पूर्वाधार निर्माण गरिएको जानकारी दिए ।

उनका अनुसार अहिले थप गरिएका मेडिकल उपकरण तथा भौतिक पूर्वाधारले अस्पताल सञ्चालनमा सहजता ल्याउनेछ । तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण पूर्वतयारी अन्र्तगत शंकरनगर र कोटिहवामा क्वारेन्टाइन सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV